• ३० जेठ २०८२, शुक्रबार

धनकुटामा पुनः देखिन थाल्यो लम्पी स्किन रोग

blog

कोकिला भण्डारी
धनकुटा, जेठ २९ गते । जिल्लामा लम्पी स्किन रोग पुनः देखिएको छ । दुई वर्षअघि देशभर गाईभैंसीमा महामारी कै रुपमा फैलिएको रोग फेरि धनकुटामा देखिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका अनुसार धनकुटा नगरपालिका वडा नं. ६ र १० का दुई स्थानमा लम्पी स्किन देखिएको हो । केही दिनअघि मात्रै धनकुटा नगरपालिका ६ स्थित पात्लेखोलाका डिल्लीराम राईको गाई र नगरपालिका १० का दुर्गा अधिकारीको गाईमा लम्पी स्किन देखा परेको हो ।

दुवै स्थानमा सो रोग देखा परेसँगै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले थप सङ्क्रमण हन नदिनका लागि खोप लगाएको जनाएको छ । डिल्लीराम राईले गाई बिरामी भएर पशु स्वास्थ्यकर्मीलाई खबर गर्दा लम्पी स्किन देखिएको र खोप लगाइसकिएको बताउनुभयो ।

खोप नलगाइएका गाइभैंसीमा रोग देखिने गरेको प्रारम्भिक अध्ययनमा दखिएको छ । अहिले पनि धनकुटामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिने देखेर कार्यालयले बेलैमा भाइजर खोप ल्याएको छ । केन्द्रले अहिले धनकुटामा झण्डै १० हजार भाइजर ल्याएको पशु विकास अधिकृत तथा सूचना अधिकारी दिनेश कार्कीले बताउनुभयो । ‘‘किसानहरुले आफ्ना पशु बिरामी भए मात्रै भाइजर खोप लगाउने होइन, पहिले नै पशु चौपायको ख्याल गर्ने हो भने लम्पी स्किन लाग्नबाट बचाउन सकिन्छ ।,’’ पशु विकास अधिकृत अधिकारी कार्कीले भन्नुभयो, ‘‘अहिले हामीसँग १० हजार भाइजर खोप आइसकेको छ । किसानलले चाहे जनसुकै बेला पनि लगाउन सक्नुहुन्छ ।’’

नेपालमा पहिलो पटक २०७७ असारमा लम्पी स्किन देखिएको थियो । धनकुटामा दुई वर्ष अघि १५ हजार ४०६ वटा पशुमा लम्पी स्किन देखिएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गतवर्ष झै यस वर्ष पनि पशुहरुलाई भाइजर खोप नलगाइए भने फेरि माहामारी कै रुप लिन सक्ने आशङ्का गरिएको छ ।

लम्पि स्किन रोग लाग्दा रोगी पशुहरुमा ज्वरो आउने, अरुचि हुने र झोक्राउने जस्ता लक्षणहरु देखिन्छन् । त्यसको दुई–तीन दिनमा पशुको शरीरभरी गिर्खा र गाँठाहरू देखिन सुरु गर्छ । यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जिवाणुजन्य सङ्क्रमण भई समस्या झन् बढ्दै जाने भएकाले तुरुन्तै नजिकका पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्नुपर्ने अधिकृत कार्कीले सचेत गराउदै आइरहनुभएको छ ।