तम्घास समाचारदाता
तम्घास (गुल्मी), जेठ २९ गते । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन चार वर्षमा पनि बन्न सकेको छैन । निर्माण व्यवसायीले असार मसान्तसम्म काम सक्ने बताए पनि भवन सम्पन्न हुने सम्भावना छैन । गुल्मी अस्पतालको साढे पाँचतले भवन २०८० असार १७ गतेसम्म सम्पन्न गर्ने गरी २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा स्वच्छन्द–बानियाँ जेभी हेटौँडा मकवानपुरले निर्माणको जिम्मा पाएको थियो । भवन निर्माणको भौतिक प्रगति ८५ प्रतिशत भएको निर्माण व्यवसायीका सबइन्जिनियर अरविन्द्र चौधरीले बताउनुभयो ।
भवनको अहिले पेन्टिङ, वायरिङ, आल्मुनियम लगाउनेलगायतका काम भइरहेका छन् । चिसो मौसम, पानी परिरहने, सुरुमा कोभिड लहर, निर्वाचनको समयमा डन्डीको उच्च मूल्यवृद्धि, गिट्टी, बालुवाको अभाव र सामान ढुवानी समस्याले समयमै काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ । उहाँले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य भए पनि दसैँसम्म समय लाग्न सक्ने बताउनुभयो । गुल्मी अस्पतालमा रहेका भवन सेवाग्राहीमैत्री नहुँदा समस्या हुँदै आएको छ ।