रवीन्द्र उप्रेती
बर्दिबास, जेठ २९ गते । मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले ‘मधेशले देशलाई खुवाउने अभियान’ को महत्वाकांक्षी योजनालाई साकार पार्न कृषि क्षेत्रलाई उचित प्रवन्ध गरेर अघि बढनुको विकल्प नभएको बताउनुभएको छ ।
उहाँले अभियानलाई सफल बनाउन खाधान्न, फलफूल, माछामासु लगायत कृषि उत्पादनका समग्र क्षेत्रको विकासका लागि मधेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
मधेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लालगढमा आयोजना गरेको ‘मधेश फुड फोरम’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री क्षेत्रीले सो कुरा बताउनुभएको हो ।
आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा मधेश सरकारले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा आत्मसात गरिसकेको उहाँको भनाइ छ । यो लक्ष्यलाई साकार पार्न ‘उत्पादन मधेशमा विस्तार देशमा’ ‘खेतमा पानी, घरघरमा खाधान्न र आम्दानी’ जस्ता अभियानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।
यी कार्यक्रमले कृषि उत्पादनको बजारीकरणका साथै कृषि उत्पादकत्वमा बृद्धिका लागि असिञ्चित क्षेत्रमा विद्युत विस्तार र डिप वोरिङ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाएको उदाहरण प्रस्तुत गर्नुभयो ।
मन्त्री क्षेत्रीका अनुसार मधेशको कृषि क्षेत्रमा उसै पनि बजेट र साधन स्रोतको नितान्त अभाव छ । तथापि भएकै स्रोत र साधनलाई पनि इमान्दारीसाथ कार्यान्वयन गर्न नसकेको अवस्थाले ‘फिड द नेसनको’ महा अभियानमा प्रश्न खडा गरेको बताउनुभयो ।
उहाँका अनुसार जिल्ला र निर्देशनालयले समेत खर्च गर्न नसक्दा बजेट फ्रिज हुने अवस्थामा छ । मन्त्री क्षेत्रीले प्रश्न गर्नुभयो, ‘बजेट परिचालनको सन्दर्भमा हामी चुक्दैगएका छांै । एकातिर कृषि क्षेत्रमा बजेट कम छ । अर्कोतिर आर्थिक वर्ष अन्त्य हुन लाग्दा कृषि मन्त्रालयको बजेट १६ प्रतिशत मात्र खर्च भएको छ ।’
उहाँले भन्नुभयो, ‘एकातिर कृषि औजार चलाउन खर्च पुगेन भनेर किताव बेचि हिडनु हुन्छ । अर्कोतिर अनुदानका लागि आग्रह गर्दा प्रस्ताव पनि दिनु हुन्न ।’
कार्यक्रममा मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दहालले मधेशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले ‘फिड द नेसन’ अभियानलाई कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
सचिव दहालका अनुसार पौने ६ लाख हेक्टर कृषि क्षेत्र रहेको मधेश प्रदेशका ८६ प्रतिशत सिञ्चित क्षेत्र, उन्नत वीउविजनमा ५८ प्रतिशत पहुँच, ३० मिनेटको दूरीमा हाटबजार, ९१ प्रतिशत मैदानी भाग तथा ७० प्रतिशत जनसंख्या कृषिमा आवद्ध रहेकाले यहाँ कम लागतमा कृषि उत्पादकत्व बृद्धिको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
फिड द नेसन कार्यक्रम अभियानमा सहभागिता जनाउदै विभिन्न १० वटा ब्यापारिक प्रतिष्ठानले मधेशको कृषि क्षेत्रमा ५२० करोड लगानीको प्रतिवद्धता जनाएका छन् ।