• ३० जेठ २०८२, शुक्रबार

झापामा लम्फी स्किन र अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण

blog

लम्फी स्किन पहिचानमा स्वास्थ्यकर्मीको टोली । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, जेठ २९ गते ।
झापाको मेचीनगरमा गाईगोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण देखिएपछि किसानहरु चिन्तित भएका छन् । मेचीनगरको एक बङ्गुर फर्मका ८० भन्दा बढी बङ्गुर मरेपछि स्थानीय किसानलाई चिन्तित बनाएको छ ।

मेचीनगर–६ स्थित अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण देखिएको बबिता बङ्गुर फार्ममा ८० वटा बङ्गुर मरेका हुन् । नगरपालिका पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङका अनुसार अफ्रिकन स्वाइन फिवरका कारण नै बङ्गुरमा ठुलो क्षति पुगेको छ । यहाँबाट नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

यस विषयमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोली समेत मेचीनगरमा आएका छन् । मङ्गलबार सङ्घीय सरकारको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव डा.पशुपति ढुंगाना, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्याय, केन्द्रीय पशुपन्क्षी रोग अन्वेषक प्रयोगशालाका पशु चिकित्सक डा.विकेशकुमार राउतसहितको टोली मेचीनगर आउनुभएको हो ।

यसैगरी, मेचीनगरमा गाईगोरु तथा जनावारहरुमा शङ्कास्पद लम्फी स्किन रोग देखिएको छ । मेचीनगर–७ र १४ को किसानको घरमा पुगेर गाई गोरुको अवस्थाको विषयमा टोलीले जानकारी लिएको छ । सङ्क्रमित क्षेत्रको पाँचसय मिटर आसपासका किसानका गाईगोरुहरुमा नगरपालिकाको पशु प्राविधिकको टोलीले ‘रिङ भ्याक्सिन’ लगाएका छन् ।