बुलबुले समाचारदाता
सुर्खेत, जेठ २७ गते । कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणका लागि चार अर्ब लागत लाग्ने भएको छ । नयाँ डिजाइन अनुसार तयार गरिएको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साढे चार अर्ब रकम लाग्ने भएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले डिपिआर अनुसार चार अर्ब ६२ करोडको लागत स्वीकृत गरिएको बताउनुभयो । भवनको डिजाइन परिवर्तन भएसँगै डिपिआर पनि नयाँ बनाइएको छ । नयाँ डिपिआर अनुसार लागत अनुमान पनि बढेको छ । यसअघि निर्माण गरिएको डिपिआर अनुसार दुई अर्ब ४९ करोड लागत अनुमान रहेको थियो । पाँच हजार वर्गमिटरभन्दा बढी क्षेत्रमा भवन निर्माण हुने गरी डिपिआर बनेको थियो । नयाँ डिपिआर निर्माण गरेसँगै लागत बढेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले एकीकृत सरकारी प्रशासनिक केन्द्र भवन योजना अघि सारेको थियो तर त्यसका लागि आवश्यक जग्गा प्राप्त नहुँदा योजना कार्यान्वयनमा आउन सकेको थिएन । अब भने जग्गा प्राप्तिसँगै योजना कार्यान्वयन हुने छ । कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय एकै ठाउँ राख्ने गरी एकीकृत प्रशासनिक केन्द्र निर्माण गर्न लागिएको हो ।