धनगढी समाचारदाता
धनगढी, जेठ २७ गते । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतले पारित गरेको हो । जेठ १६ गते प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।
सभामा तीन दिनसम्म छलफल गरेर नीति तथा कार्यक्रम पास गरिएको छ । नीति तथा कार्यक्रममा छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री कमलबहादुर शाहले ९५ प्रतिशत प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि सकारात्मक कोणबाट छलफल गरेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई बजेटमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभयो । छुटेको कुरालाई पनि बजेटमार्फत सम्बोधन गर्ने मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले सबैको सही सुझावलाई ग्रहण गरेर प्रदेश सरकार अगाडि बढाउने बताउनुभयो ।
मुख्यमन्त्री शाहले राजधानी निर्माणमा ढिलाइ भइसकेको भन्दै अब राजधानी निर्माणको कुरालाई सदनमा छलफलको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । शाहले भन्नुभयो, “राजधानीको सन्दर्भमा सङ्घीय सरकारलाई लिखित रूपमै आग्रह गरेका छौँ । वर्तमान प्रधानमन्त्रीले यसको विषयमा सकारात्मक कुरा राख्नुभएकाले म केही आशावादी छु ।” सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले समग्रमा खँदिलो नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का रमेशसिंह धामीले कार्यक्रम महत्वाकाङ्क्षी रहेको भन्दै बजेट विनियोजन र कार्यान्वयनमा चुनौती हुने उल्लेख गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले थारू आलु र अनदीको चामलको प्याकेजिङ र बजारीकरण गर्न सके प्रदेशको समृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
जानकी कुँवरले गाउँघरमा बन्ने मदिरा र ग्रामीण क्षेत्रमा उत्पादन हुने महलाई ब्रान्डिङ गरेर अगाडि बढ्न सके फाइदा हुने बताउनुभयो । चक्र मल्लले जनताको आवश्यकता र अपेक्षालाई ध्यानमा राखी नीति तथा कार्यक्रम आएको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट सरलले नीति तथा कार्यक्रम रङ्गीचङ्गी भए पनि त्यसमा समृद्ध बनाउने केही पनि नरहेको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रममा भिजन र मिसन नरहेको उहाँको जिकिर थियो ।