रामकृष्ण बोहरा
बागलुङ, जेठ २७ गते । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता आन्दोलित बनेका छन् । आफुहरुलाई थाहै नदिइ सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको घर बिक्री भएपछि सहकारीका पीडितहरु आन्दोलित बनेका हुन् ।
इमेजका पीडितहरुले राष्ट्रिय सहकारी बैंकमा धर्ना दिनुका साथै तालाबन्दी समेत गरेका थिए । यद्यपी प्रहरीको सहयोगमा बैंकमा लगाइएको ताला भने खुलाइएको छ । पीडितलाई थाहै नदिइ सहकारीका संस्थापक अध्यक्ष नेपालीको नाममा रहेको घर बिक्री गरिएको, पीडितको तर्फबाट लिलाम सकारेर बचत फिर्ता ल्याउन चाहेपनि लिलाम सकार्नेहरुले राजनीतिक पहुँचमा झण्डै एक अर्ब पर्ने घर २०/२१ करोडमा बिक्री गरिएको भन्दै पीडितहरु आन्दोलित बनेका हुन् ।
जिल्ला अदालतको आदेशले थुनामा रहनुभएका नेपालीको हस्ताक्षर बिनै घर कसरी बिक्री भयो भन्ने कतिपय पीडितको जिज्ञासा छ । मालपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्र थापाले भने बैंकको लिलामी प्रक्रियामा गएकाले व्यक्तिगत जग्गा पास गरेझै हस्ताक्षर नचाहिने बताउनुभयो । बैंकको ऋणभन्दा बढी रुपियाँमा घरजग्गा सकारेको भए बाँकी रकम फिर्ता हुने र कम भए बैंकले सिधै उठाउन पाउने राष्ट्र बैंकको नियममा उल्लेख छ ।
सोही नियम अनुसार नेपालीको नाममा रहेको बागलुङ नगरपालिका–२ स्थित हल्लनचोकको कित्ता नम्बर ४५७, ४५८ र ४५९ मा बनेको ठुलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो । बैंकले डेढ वर्ष अघिदेखिको प्रक्रियाबाट ती घर लिलाम गरेको हो । दुवै घर बागलुङ नगरपालिका–११ का रामबहादुर र गोमा क्षेत्रीले लिलाम सकारेका थिए ।
अध्यक्ष नेपालीको घरजग्गा के कति रकममा बेचिएको हो, कसरी लिलाम सकारिएको भन्दै सूचना माग गर्दै पीडितहरु राष्ट्रिय सहकारी बैंकमा पुगेका थिए । सूचनाको हकसम्बन्धी ऐन २०६४ ले भने निवेदन दिएको साता दिनपछि मात्र सूचना दिन पाउने व्यवस्था गरेकाले त्यसकै तयारीमा जुटेको बैंकका प्रबन्धक श्रेष्ठले बताउनुभयो । ‘‘घर लिलामका लागि लामो समयदेखि सूचना प्रकाशित भएकाले राष्ट्र बैंकको नियमले दिएको अधिकारबाटै घर लिलामी भएको हो’’ श्रेष्ठले भन्नुभयो ।
तीन वर्षदेखि आन्दोलनरत सहकारीका पीडित बचतकर्ताले उक्त घर सस्तोमा बेचेर पीडितको रकम फिर्ता पाउने अवसर बञ्चित गरेको इमेजपीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताउनुभयो । सस्तो मूल्यमा घर बेचेर पीडितलाई अप्ठ्यारो पारिएको अध्यक्ष कार्कीको आरोप छ ।
सहकारीमा तरलता अभाव देखाएर नेपाली २०८० जेठ ४ गतेदेखि फरार भएपछि बचतकर्ताहरुले आफ्नो रकम ठगिएको भन्दै प्रहरी गुहारेका थिए । पीडितहरुको जाहेरी सङ्कलन गरी प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते नेपालीविरुद्ध मुद्दा दायर गरेको थियो । गत असोजदेखि नेपाली अदालतको आदेशले थुनामा हुनुहुन्छ ।