नेपाल कृषिप्रधान देश भएको भाष्य लामो समय चल्यो । सामान्यतः समग्र अर्थतन्त्रलाई कृषि, उद्योग र सेवा क्षेत्रमा विभाजन गरिन्छ । परम्परागत रूपमा नेपालको अर्थतन्त्रमा उद्योग र सेवा क्षेत्रको ठुलो विस्तार थिएन । मुलुकमा ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमै आबद्ध थियो । कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान कुनै बेला ५० प्रतिशतभन्दा बढी थियो । समय क्रममा अहिले जिडिपीमा कृषि क्षेत्रको योगदान घट्दो छ । अर्थतन्त्रमा ठुलो योगदान रहेको कृषि क्षेत्र एक पञ्चमांश हाराहारीमा खुम्चिएको छ भने यसमा आबद्ध हुने जनसङ्ख्या पनि ह्वात्तै घटेको छ । पछिल्लो दशकमा बसाइँसराइ, वैदेशिक रोजगारीको आकर्षण तथा बाध्यताले कृषि क्षेत्र खुम्चिँदै छ । यो क्षेत्र खुम्चिएसँगै मुलुक अहिले आयातमा निर्भर हुँदै छ । अहिलेको अवस्थामा कृषि क्षेत्र अनेक समस्याले पनि पीडित हुँदै छ । कृषिका निम्ति पशुधन ठुलो सहारा हो । नेपालको घरेलु अर्थतन्त्रमा गाईभैँसीको योगदान महत्वपूर्ण छ । दुध र दुग्ध उत्पादनसँगै जैविक कृषि प्रणालीका निम्ति गोठे मल नेपाली खेती प्रणालीकै मूल आधार हो । कृषिबाट नयाँ पुस्ता विस्थापित भएसँगै पशुपालन व्यवसाय नै ओरालो लागेको छ । पशुधनबिना परम्परागत कृषि परिकल्पना पनि गर्न सकिन्न । यति मात्र होइन, पशुपालन विस्थापित हुँदै जाँदा रासायनिक मलप्रतिको निर्भरताले स्वस्थ आहारमै प्रतिकूल प्रभाव पर्छ । केही वर्षदेखि पशुमा ‘लम्पी स्किन’ रोगले प्रतिकूल प्रभाव पारिरहेको छ ।
एक पटक नियन्त्रणमा आइसकेको ‘लम्पी स्किन’ फेरि देखिन थालेको छ । नेपालमा २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा पहिलो पटक ‘लम्पी स्किन’ देखिएको थियो । यो रोगको व्यापक विस्तार भयो । दुई वर्षअघि अर्थात् २०८० सालसम्म आइपुग्दा मुलुकका ७७ वटै जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा ‘लम्पी स्किन’ देखियो । यो रोगको सङ्क्रमणका कारण नेपाली किसानले ७४ अर्ब ६७ करोड रुपियाँ बराबरको आर्थिक क्षति बेहोरेको अभिलेख छ । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ पशुमा सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ । नेपालमा ३१ लाख हाराहारीमा गाई र ४७ लाख भैँसीमध्ये ठुलो सङ्ख्याका पशुधनमा यो रोगले भेट्यो । ‘लम्पी स्किन’ का कारण मर्नेमा प्रायः अत्यधिक श्रममा खटिने गोरु रहे । भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी पनि रोगबाट आक्रान्त हुने गर्छन् । रोग लागेपछि दुधालु गाईभैँसीको दुध दिने क्षमतामा ह्रास हुन्छ । नियमित रूपमा दैनिक १० लिटर दुध दिने पशुले मुस्किलले दुई लिटर दिने अवस्था आउने पशु चिकित्सकको भनाइ छ ।
‘लम्पी स्किन’ फेरि देखिन थालेपछि गम्भीर हुनु जरुरी छ । पशुसेवा विभागले सूचना सम्प्रेषणसँगै नियन्त्रणका उपाय पनि अवलम्बन गर्न थालेको पाइएको छ । विभागका अनुसार रोगको दुष्प्रभाव नियन्त्रणमा लिन सरकारले विशेष योजना अगाडि बढाउने भएको छ । यो रोगविरुद्धको खोप विभागले सातै प्रदेशमा पठाउन थालेको जनाएको छ । पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजारमध्ये १० लाख डोज खोप सातै प्रदेशमा पठाएको जानकारी दिनुभएको छ । यसले रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास भने बढेको छ । बाँकी चार लाख डोज खोप भने केन्द्रमा नै जगेडाका रूपमा राखिएको छ । खोप प्रदेशमा पुगेर मात्र हुँदैन, स्थानीय तहमा पुगेर किसानका गाईवस्तुसम्म पुग्नु पर्छ । त्यसका निम्ति प्रदेश सरकारको सम्बद्ध निकाय त क्रियाशील हुनै पर्छ, साथसाथै स्थानीय तह पनि क्रियाशील हुनुपर्ने देखिएको छ । समयमै खोप लगाएर पशुधनमा हुने जोखिम कम गर्न सकिने छ । लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसका निम्ति किसानलाई प्रशिक्षणको पनि आवश्यक पर्छ । रोग लागेपछि पशु एकाएक थलिन्छ । अघिल्लो दिनसम्म सामान्य रहेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने गर्छ । मुख र नाकमा घाउ हुन्छ । आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किन्छ । पशु प्राविधिकको सहयोगबिना किसानले यो रोगको उपचार गर्न सक्ने अवस्था नरहने हुँदा सम्बद्ध निकायको ठुलो सहयोग आवश्यक देखिन्छ ।