जमायन बुढामगर
रुकुमपूर्व, जेठ २७ गते । भूमे गाउँपालिकाको आयोजनामा भूमे पर्वको अवसरमा विविध प्रतियोगिता आयोजना गरिएको छ । भूमे पर्व मगर समुदायको मुख्य चाड हो । भूमे पर्व विधिगत रुपमा जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म धुमधामले मनाउने गर्दछन् । भूमे पर्वको अवसर पारी भूमे गाउँपालिकाले विभिन्न विधाका खेलकुद, मौलिक कला, संस्कृति नाच र गीतबिच प्रतिस्पर्धा गर्न लागेको हो ।
पाँचौँ भूमे सांस्कृतिक महोत्सव
“हाम्रो भूमे हाम्रो पहिचान : स्थानीय कला संस्कृतिको जगेर्ना हाम्रो अभियान” भन्ने नाराका साथ पाँचौँ भूमे सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । असार २ गतेदेखि भूमे गाउँपालिका–२ खाबाङ बगरमा पाँचौँ भूमे सांस्कृतिक महोत्सव लाग्ने भएको हो । भूमे सांस्कृतिक महोत्सवमा खुला प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
भूमे नाचमा प्रथम हुने समूहलाई नगद एक लाख, दोस्रो हुने समूहलाई नगद ७५ हजार, तेस्रो हुनेलाई नगद ५० हजार र सान्त्वना हुनेलाई नगद ३० हजार पुरस्कार प्रदान गरिने भूमे सांस्कृतिक महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव चन्द्र रसाइलीले जानकारी दिनुभयो । यसैगरी, ढोङ्गे÷नचारु नाच, मयुर नाच, डिग्रे÷पैसेरु नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपियाँले पुरस्कृत गरिने रसाइलीले बताउनुभयो ।
फाङ्क नाच, झोरेल्नी नाच, सिङ्गारु नाच र लस्के गीत प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपियाँ पुरस्कार राशी रहेको छ । यी नाच तथा गीत भूमे गाउँपालिकाका पुराना कला संस्कृति हुन् । यसलाई जोगाइ राख्न तथा पुस्तान्तरण गर्नका लागि गाउँपालिकाले प्रतियोगिता नै आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
सांस्कृतिक महोत्सवमा भाग लिने समूहले असार १ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । उद्घाटन समारोह र गोलाप्रथामा उपस्थित नहुने समूहलाई प्रतियोगितामा सहभागी नगराइने समेत आयोजकले बताएको छ ।
छैटौँ संयुक्त गुरिल्ला ट्रेल म्याराथन दौड
भूमे वर्षकै अवसर पारी रोल्पाको थबाङ गाउँपालिका र रुकुमपूर्वको भूमे गाउँपालिकाको संयुक्त आयोजनामा छैटौँ संयुक्त गुरिल्ला टे«ल म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ५५ किलोमिटर दूरीको दौड प्रतियोगितमा स्थान हासिल गर्ने प्रतियोगी महिला र पुरुषलाई नै समान पुरस्कार राशी रहेको छ ।
गुरिल्ला टे«ल म्याराथन दौड प्रतियोगिता असार ३ गते हुने भएको छ । ५५ किलोमिटर दूरीमा हुन लागेको दौड भूमे–६ महत–नइमाक्याङ–लाबा–हुलबाङ–थोरबाङ–गलचोल–घमचिन–चिल्गा–जलजला–सालबछिडा–थरपु–तेलखोलापुल–जन्तरे–गुराँसे–धाप्का–पोरपोछिडा–झुरबा हुँदै थबाङमा सकिने छ ।
दौडमा स्थान हासिल गर्ने महिला–पुरुष प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई समान क्रमशः नगद ७० हजार, ४५ हजार, २५ हजार, १५ हजार र पाँच हजार रुपियाँसहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिने गाउँपालिकामा कार्यरत नायब सुब्बा चेतन बुढामगरले जानकारी दिनुभयो । छैटौँदेखि दशौँ स्थानसम्म हासिल गर्ने महिला/पुरुषलाई नै नगद पाँच÷पाँच हजारको साथमा मेडल, प्रमाणपत्र प्रदान गरिने बुढामगरले बताउनुभयो ।
नाम दर्ता शुल्क विदेशीलाई एक हजार रहेको छ भने स्वदेशीलाई पाँच सय रुपियाँ रहेको छ । नाम दर्ता गर्ने अन्तिम दिन असार २ गतेसम्म रहेको छ भने दौडमा भाग लिनका लागि असार ३ गते बिहान साढे ६ बजे महतमा पुग्नुपर्ने आयोजकले जनाएको छ । दौड गर्ने रुढ रोल्पाको थबाङ र भूमे गाउँपालिकाको भूभाग पर्ने भएकाले यस वर्षदेखि दुई गाउँपालिकाले संयुक्त रुपमा दौड प्रतियोगिता आयोजना गरिएको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
पाँचौँ भूमे कप
भूमे पर्वकै अवसर पारी भूमे गाउँपालिकाकै आयोजनामा पाँचौँ भूमे कप प्रतियोगिता आयोजना गरिएको छ । भूमे–४ काँडामा असार १ गतेदेखि पाँचौँ भूमे कम सञ्चालन गरिने भएको छ ।
पुरुष तथा महिला भलिबल, पुरुष फुटबल, लोक दोहोरी र नुत्य प्रतियोगिता आयोजना गरिएको खेल संयोजक चन्द्र रसाइलीले बताउनुभयो । भलिबल र फुटबल प्रतियोगितामा रुकुमपूर्व भित्रका शुद्ध वडा स्तरीय खेलाइने छ । महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला÷पुरुषलाई समान पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक रसाइलीले जानकारी दिनुभयो । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद ७० हजार, ४५ हजार, ३० हजार र पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी, फुटबल प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र पाँच हजारको साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । साथै लोक दोहोरीमा स्थान हासिल गर्ने प्रथम, दोस्रो, तेस्रोलाई क्रमशः १० हजार हजार, सात हजार र पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिने छ । साथै नृत्य प्रतियोगिता प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजारको साथमा प्रमाणपत्र प्रदान गरिने छ । खेलमा भाग लिनेले जेठ ३१ गते भित्र नाम दर्ता गरिसक्नु पर्ने छ ।