हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ २६ गते । गण्डकी प्रदेशको 'लाइफलाइन' मानिएको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना सदरमुकाम जोमसोमदेखि स्याङ खोलासम्मसडक कालोपत्रेले गति लिएको छ ।
आयोजनाको ताकेतासँगै पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले घरपझोङ गाउँपालिका–३,स्याङखोला देखि जोमसोमतर्फ पाँच किलोमिटरमा आस्कपाल्ट प्रविधिको कालोपत्रेको कामलाई तिब्रता दिएको हो । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने आयोजनामार्फत १७ किलोमिटरमध्ये बाँकी ५ किलोमिटरमा काम भइरहेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो ।
आयोजना प्रमुख झाले भन्नुभयो, "कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ, बाँकी कामलाई समयमै सम्पन्न गर्ने निर्माण ब्यवसायीले प्रतिबद्धता जनाएका छन् ।" सडक कालोपत्र गर्न वि सं २०७३ असारमा पप्पु-गौरी-पार्वती-कोसी एण्ड न्यौपाने जेभीले रू ९९ करोड ६२ लाख रुपिँयामा ठेक्का सम्झौता गरिएको थियो । विगतमा सडक निर्माणको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भएपछि आयोजनाले कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेपछि गौरी पार्वतीको अग्रसरताले बाँकी कामले पूर्णता पाउन लागेको आयोजना प्रमुख झाको भनाइ छ ।
यसैबिच आयोजनाअन्तर्गत पर्वत जिल्लाको मालढुङ्गा–बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६१ प्रतिशत, गलेश्वर–तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना रहेको छ।आयोजनाको म्याग्दी खण्डमा पर्ने गलेश्वरदेखि घाँसासम्मको सडक बाढीपहिरोका कारण समस्या झेल्नुपरेपनि मुस्ताङ खण्डमा भने सहज छ । हालसम्म सडक, पुलसहित अन्य भौतिक निर्माणमा हालसम्म भौतिक प्रगति ८५ प्रतिशत प्रगति रहेको आयोजनाले जनाएको छ ।