• २४ जेठ २०८२, शनिबार

सप्तकोसीमा बेपत्ता सशस्त्र प्रहरी मध्ये एकको शव फेला एक जना अझै बेपत्ता

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), जेठ २३ गते । बाढी पहिरोबाट सर्वसाधारणलाई उद्दार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोसी नदीमा डुबेर बिहीबार बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवान मध्ये एकको शुक्रवार शव फेला परेको छ । 

वर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दे गर्दा गोताखोर सहित सप्तकोसीमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएकोमा १५ घण्टापछि राजवंशीको शव फेला परेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी छिन्नमस्ता महोत्तरी, दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरी, सशस्त्र प्रहरी बल पकली सुनसरी र विपद् तालिम केन्द्र कुलिंगटारको संयुक्त टोलीले १५ घण्टापछि सशस्त्र प्रहरी जवान राजवंशीको शव फेला शुक्रवार बिहान ८ बजे पारेको हो । भने सुरज साउदको अवस्था अझै अज्ञात छ ।

७५ जनाको उद्धार टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकार गृह, कानुन तथा सञ्चार मन्त्रालयको योजनामा जेठ २४ गते शनिवार मनसुन विपद् प्रतिकार्य ‘सिमुलेशन’ अभ्यास गर्ने कार्यक्रम तय गरिएको थियो । त्यसैको पूर्व तयारी स्वरूप सप्तकोसीमा अभ्यास गर्न गएका सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बिहीबार गोताखोर सहित साँझ ५ बजे बेपत्ता भएका थिए । 

कर्तव्य पालन गर्दै ज्यान गुमाउन पुगेका सशस्त्र प्रहरी जवानका परिवारजनलाई सोही अनुसारको सुविधा प्रदान गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।