हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ २३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५,ठिनीमा रहेको हिउँ चितुवा गुफा पर्यटकको आगमन बढेसँगै धमाधम पूर्वाधार विस्तार गरिएको छ । गुफाको अवलोकन गर्न आउने पर्यटकका लागि रेलिङ सहित पदमार्ग, पार्क, खानेपानीको धारासहित तटबन्धनको काम भइरहेको छ ।
मनाङ जिल्लाकामा रहेको तिलिचो ताल जाने मुस्ताङको प्रवेशद्वार तथा मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि पर्यटन तथा उद्योग कार्यालय मुस्ताङमार्फत २० लाख बजेट विनियोजन गरिएको जनमुक्ति यूवा क्लवका अध्यक्ष सञ्जय थकालीले बताउनुभयो । अध्यक्ष थकालीले भन्नुभयो, ‘‘हिउँ चितुवा गुफामा आउने पर्यटकलाई सहज हुने गरी पूर्वाधार बनाउँदैछु ।’’
गुफा क्षेत्रलाई थप सौन्दर्ययुक्त बनाउन हिउँ चितुवाको शालिक बनाएर विशेषतालाई समेत उल्लेख गरिने क्लब अध्यक्ष थकालीको भनाइ छ । आगामी बजेटमा हिउँ चितुवाको बासस्थान क्षेत्रसहित आसपासमा कलात्मक चित्रसहितको संरचनाका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकार समक्ष माग गरिएको स्थानीय युवा निरज थकालीले बताउनुभयो ।
सिजनमा सडक सञ्जालबाट दैनिक २० जनाभन्दा बढी पर्यटक गुफाको अवलोकनका लागि आउने गरेका छन् । सदरमुकाम जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने पदमार्ग समेत सरसफाईमा समेत स्थानीयले सक्रियता देखाउने गरेका छन् । गुफा आसपासमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले क्यामेरा राखेर हिउँ चितुवाको भिडियो र फोटोहरू खिचेपछि यहाँ पर्यटकको आगमन बढेको हो ।
नीलगिरि हिमालको काखैमा रहेको ठिनी गाउँलाई ‘लुकेको हीरा’ को नामले समेत चिनिन्छ । थकाली बाहुल्य ठिनी गाउँबाट ढुम्बा ताल, घरपझोङ किल्ला, हिउँ चितुवा गुफा, कुछम तेरेङ्गा गुम्बालगायतका पर्यटकीय स्थलमा जानेलाई लक्षित गरी थकाली सामुदायिक घरवास र थकाली समुदायको संस्कृति र इतिहास झल्कने सङ्ग्रहालय रहेको छ ।