गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), जेठ २३ गते । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएका लाखौँ मूल्य बराबरका जडीबुटी प्रशोधन केन्द्र अलपत्र परेका छन् । निकुञ्ज र जैविक मार्ग क्षेत्रमा उत्पादन भएको जडीबुटी प्रशोधन गर्न स्थापना गरिएका प्रशोधन केन्द्र प्रयोग नभएर जीर्ण बनेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा किसानले लगाएको धान, गहुँ, मकै, तोरी, मुसुरोलगायतका बाली जङ्गली जनावरले क्षति पुर्याउने गरेको थियो । त्यही क्षति न्यूनीकरण गर्न वैकल्पिक जडीबुटी खेती सुरु गरिएको थियो ।
जडीबुटी प्रशोधनका लागि लाखौँ रुपियाँको लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको थियो । तिनै प्रशोधन केन्द्र अहिले खण्डहर बनेका छन् । ससाना प्रशोधन केन्द्र कामै नलाग्ने गरी नष्ट भएका छन् भने निकुञ्ज आसपासका तीन वटा मुख्य ठुला प्रशोधन केन्द्र मर्मतसम्भारको अभावमा त्यसै थन्किएका छन् ।
विशेष गरी मध्यवर्ती क्षेत्रमा मेन्था, क्यामोमाइल, लेमनग्रास, सिट्रोनेलालगायतका जडीबुटी प्रशोधन गर्न केन्द्र स्थापना गरिएका थिए । बर्दियामा मेन्था र क्यामोमाइलको खेती हुने गरेको थियो । खाता जैविक मार्ग र निकुञ्जका मध्यवर्ती क्षेत्रमा मेन्था र क्यामोमाइलको मिठो बास्ना आउने गथ्र्याे । अहिले जडीबुटी खेती हुनै छाडेको छ ।
मधुवन नगरपालिका–१ का पूर्ववडाध्यक्ष एवं कृषक पर्शुराम चौधरीले सुरु सुरुमा राम्रो मूल्य आउने गरे पनि पछिल्लो समयमा मूल्य नै नपाउने र बिक्री नै नहुने हुनाले मेन्था र क्यामोमाइलको खेती गर्न छोडेको बताउनुभयो ।
गाउँमा जडीबुटी खेती गर्न लागेपछि विदेश गएका युवासमेत फर्किएका थिए । उहाँले भन्नुभयो, “राम्रो बजार व्यवस्थापन नहुँदा फेरि कोही विदेश त कोही भारततिर पलाएन भएका छन् ।” शिव बहुउद्देश्यीय सहकारीका अध्यक्ष सीताराम चौधरीले मूल्य कम हुँदा कृषकले नै जडीबुटी खेती गर्न छाडेको बताउनुभयो । उहाँले पहिले दुई हजार पाँच सय प्रतिकेजीमा बिक्री हुने तेल अहिले एक हजार पाँच सयमा पनि मुस्किलले बिक्री हुने भएकाले कृषकले खेती गर्न छाडेको बताउनुभयो ।
१५ वर्षअगाडि राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधि कार्यक्रम, डब्लुडब्लुएफ र बर्दिया एकीकृत संरक्षण कार्यक्रमलगायतका सङ्घ संस्थाले जडीबुटी खेती प्रवर्धन र प्रशोधन गर्न केन्द्रको स्थापना गरेका थिए । तत्कालीन समयमा जडीबुटी खेतीका लागि मल र बिउ वितरण, खेती प्रविधिका लागि तालिम र प्रशोधन केन्द्र स्थापनाका लागि करोडौँ रकम खर्च भएको थियो । बजार व्यवस्थापनका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्पर्र्क समन्वय भएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख एवं उज्यालो नेपालका संरक्षण अभियन्ता रमेश थापाले सुरुमा सङ्घ संस्थाको पनि सहयोग र बजार मूल्य राम्रो भएकाले जडीबुटी खेती राम्रो भएको बताउनुभयो । अहिले संस्थाका परियोजना बन्द हुँदै गएको र बजार मूल्य नपाएका कारण जडीबुटी खेती घटेको बताउनुभयो । उहाँले तत्कालीन समयमा बनाएका प्रशोधन केन्द्र खण्डहर बन्दै गएको बताउनुभयो ।