• ३० वैशाख २०८१, आइतबार

मधुपर्क सम्मानबाट बस्नेत, रसिक र मोमिला सम्मानित

blog

मधुपर्क सम्मानबाट सम्मानित साहित्यकारत्रय मोमिला, बस्नेत र रसिक । तस्विर : केशव गुरुङ र कविन अधिकारी ।

काठमाडौं, जेठ ३० गते । गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५६ औं वर्ष प्रवेशका अवसरमा नेपाली साहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान पुर्याउनुभएका तीनजना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ । 

सोमबार काठमाडौंमा आयोजित ‘मधुपर्क सम्मान २०७९’ गद्यतर्फ वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेत, पद्यतर्फ वरिष्ठ साहित्यकार गणेश रसिक र मधुपर्क प्रतिभा सम्मान, २०७९ बाट साहित्यकार मोमिला जोशी सम्मानित हुनुभएको हो ।


मधुपर्कले २०५९ देखि हरेक वर्ष नेपाली साहित्यका विविध विधामा विशेष योगदान पु¥याउनुभएका स्रष्टाहरुलाई मधुपर्क सम्मानबाट सम्मानित तथा पुरस्कृत गर्दैआएको छ । 

कार्यक्रममा प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपाल, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले नगद तथा सम्मानपत्रबाट पुरस्कृत तथा सम्मानित गर्नुभयो । 

सम्मानित वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको २०२६ सालको मधुपर्कमा कविता प्रकाशन भएको थियो । उहाँ सिउँडीजस्ता पत्रिकाको सम्पादन समूहमा सम्बद्ध हुनुहुन्थ्यो । कथा र कवितामा सशक्त मानिनु हुने बस्नेत राजनीतिक विश्लेषक, इतिहास अन्वेषक हुनुहुन्छ ।

बस्नेतका नेपाली कांग्रेसको इतिहास (दुई खण्ड) प्रकाशित छन्, साथै नेपाली जनक्रान्तिका अन्वेषक बस्नेतका फुटकर रचना प्रकाशित छन् । उहाँले नेपाल पुकार, राष्ट्र पुकार, राजधानीजस्ता पत्रिकाको सम्पादन गर्नुभएको थियो ।  


सम्मानित साहित्यकार गणेश रसिकका दश गजामा उभिएर कविता सङ्ग्रह, क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह) स्वाधीनता पीडा, एउटा सारङ्गीभित्र (कथा सङ्ग्रह), आकाश गङ्गाको ओठमाथि, बिलाउँदै गएको गीत, रसिकका गीत (गीत सङ्ग्रह) जस्ता कृति चर्चित छन् ।

साहित्यकार मोमिला जोशीका पैयुँ फुल्न थालेपछि जूनकीरीहरू ओर्लिरहेछन्, दुर्गम उचाइमा फूलको आँधी, निर्वस्त्र नगरीमा भीमसेन थापाको सुसाइट नोट, खुला ढोका, नीलो, दुईथोपा आँसु ईश्वरको अदालतमा आउटसाइडरको बयानजस्ता सङ्ग्रह प्रकाशित छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासकार ज्ञानमणि नेपालले राणाकालका शासकहरुमध्ये उदारवादी शासक देव शमसेरले जनतालाई जागरुक बनाउन गोरखापत्रको प्रकाशन सुरु गरेको र पञ्चायतकालमा मधुपर्कको प्रकाशन सुरु भएको दृष्टान्त औंल्याउनुभयो । 

जनतालाई केन्द्रबिन्दुमा नराख्दा राणा शासन र राजतन्त्र समाप्त भएको उल्लेख गर्नुहुँदै उहाँले लोकतन्त्रमा नेपाली राजनीतिज्ञहरुले जनताको चाहनालाई सर्वोपरि मानेर शासन सञ्चालन गर्नुपर्ने बताउनुभयो । इतिहासकार नेपालले शासकहरुको आँखा खोल्ने र जनताका आवाज सुनाउने काम विद्वानहरुले गर्नुपर्ने हुन्छ भन्नुभयो । 

सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतले मधुपर्कको विशिष्ट इतिहास रहेको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गरेकोमा शी प्रकट गर्नुभयो । 

यसैगरी, वरिष्ठ साहित्यकार गणेश रसिकले मधुपर्क मात्र यस्तो पत्रिका हो जसले निरन्तर साहित्यकार र कविहरुका रचनालाई प्रकाशन गर्ने र सम्मान गर्ने परम्परा कायम राखेको बताउनुभयो । उहाँले निरन्तर समर्पणको भावनाका कारण मधुपर्क ५५ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । 


यस्तै, साहित्यकार मोमिला जोशीले मधुपर्क सम्मानबाट सम्मानित हुन पाउँदा आफूलाई गर्व महसुस भएको बताउनुभयो । जिन्दगीमा भूकम्प र कोरोनाजस्ता भयावह रोगले सुरताल र लय भत्काएको प्रेमलाई साहित्यले बहलाएको जस्तोलाग्ने मोमिलाको साहित्यिक अनुभव छ । लेखकले आफ्नै छुट्टै आकाश निर्माण गर्छ र त्यही आकाशमुनि बस्नका लागि कुनै जाति र राहदानी नचाहिने चर्चा गर्नुभयो ।  

विशिष्ट अतिथिहरुको स्वागत गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र दैनिक समाचारका लागि भरोसाको केन्द्र हो भने मधुपर्क नेपाली साहित्यको पाठशाला हो भन्नुभयो । 

नेपाली कला, संस्कृति भाषाको विकासमा गोरखापत्रको ठूलो योगदान रहेको चर्चा गर्दै अध्यक्ष सुवेदीले मधुपर्कले धेरै साहित्यकर्मी जन्माएको छ, उहाँहरुकै परिश्रम तथा मिहिनेतले यो यहाँसम्म आइपुगेको छ भन्दै मधुपर्कको आधुनिकीकरण गर्दै प्रविधिमैत्री मधुपर्कका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“साहित्यकर्मीहरुले सजिलै मधुपर्क पाउनसक्ने व्यवस्था गर्न नीतिगत प्रणालीमा परिवर्तन गरिरहेको छौं र मधुपर्कका लागि छुट्टै डिजिटल पृष्ठ निर्माण गर्ने प्रयासमा छौं”, अध्यक्ष सुवेदीले भन्नुभयो । 

यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मधुपर्कले नेपाली साहित्यिक क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ, आफ्ना रचनाहरु प्रदान गरेर यसलाई पठनीय बनाउन स्रष्टाहरुले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो ।  


गोरखापत्रका प्रकाशनलाई सरकारको मुखपत्रका रुपमा मात्र रहेको बुझाइलाई हामीले परिर्वतन गर्नुपर्छ, संस्थान हामी सबैको हो, यसका प्रकाशन हामी सबैका हुन्, प्रकाशनहरुका माध्यमबाट नागरिकका आवाजलाई सार्वजनिक गर्ने हाम्रो प्रयास जारी छ, महाप्रबन्धक ऐरीले भन्नुभयो ।  

मधुपर्कका सम्पादक जयदेव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा मधुपर्क सम्मान, २०७९ चयन समितिका संयोजक डा. धुव्रचन्द्र गौतम, कवि तथा समीक्षक महेश प्रसाईं, मधुपर्कका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले मधुपर्कले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।