बुटवल समाचारदाता
बुटवल, जेठ २३ गते । रुपन्देहीका नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको दोहन एवं चोरीनिकासी भएको छ । बुटवल, सैनामैना, देवदह, सियारी शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चनलगायतका स्थानीय पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएका छन् ।
नदीजन्य पदार्थको ठेक्का लिएका व्यवसायीले भने मापदण्डविपरीत नदीबाट अवैध दोहन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अवैध दोहन गरे ठेक्का तोड्ने चेतावनी दिएको छ । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले केही दिनयता नदी निरीक्षण गर्दा नदीबाट मापदण्डविपरीत अवैध दोहन भएको देखिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बुटवलको मगरघाटनजिक मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको देखिएको भन्दै गल्ती दोहोर्याए कारबाही गर्ने चेतावनी दिएको बताउनुभयो । बुटवलको तिनाउ र दानव, देवदहको चरङ्गेखोला, बुटवलकै कर्साघाट, सैनामैनाको घमाहा, कञ्चन गाउँपालिकाको कञ्चनखोला, देवदहको रोहिणीखोला, घोडाहाखोला, सुक्रौलीघाटलगायतका खोलामा ढुङ्गा, गिट्टी, बालुवा र माटो दोहन गरी चोरीनिकासी भइरहेको छ । क्रसर उद्योगमा अवैध ओसारपसार र मापदण्डविपरीत घाटगद्दी गरेकोसमेत पाइएको प्रशासनको भनाइ छ । समाजवादी मोर्चा रुपन्देहीले अवैध रूपमा भएको नदीजन्य पदार्थ उत्खनन एवं चोरीनिकासी तत्काल बन्द गर्न आग्रह गरेको छ ।
राष्ट्रिय गौरवका योजना र अन्य नाममा नापजाँच भन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगद्दी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने काम तत्काल रोक्न माग गरेको छ । प्राकृतिक स्रोतसाधनको दोहनका लागि मापदण्डविपरीत प्रयोग गरिएका साधन खोलाबाट तत्काल हटाउन माग गर्नुका साथै आफ्नो अनुरोधलाई बेवास्ता गरे सङ्घर्षमा जाने चेतावनी मोर्चाले दिएको छ । विज्ञप्तिमा मापदण्डविपरीत प्रयोग गरिएका साधन खोलाबाट तत्काल हटाउनसमेत अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय सालझन्डी रुपन्देहीले सैनामैना नगरपालिका–८ स्थित भड्छाबाट अवैध दोहनमा प्रयोग भएका छ वटा टिप्पर र एक्साभेटर नियन्त्रणमा लिएको छ ।