खलङ्गा समाचारदाता
दार्चुला, जेठ २३ गते । महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१, तुसारपानी–टिङ्कर सडकखण्ड थप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले विरोध प्रदर्शन गरेको छ । कांग्रेसका नेताहरूले जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएर प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाउनुभएको छ ।
बिहीबार नेपाली कांग्रेस जिल्ला सभापति ललितसिंह बोहोराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका नेता, कार्यकर्ताले विरोधस्वरूप कि त सरकार बजेट देऊ, कि त नक्सा फिर्ता लेऊ, चुच्चे नक्सा करायो, टिङ्कर सडकमा यथेष्ट बजेट व्यवस्था गर, दार्चुला जिल्लालाई पिछडिएको जिल्ला घोषणा गरलगायतका जस्ता नारा लगाउनु भएको थियो ।
देशकै गौरव र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको आधारका रूपमा रहेको दार्चुला–टिङ्कर सडक निर्माणमा सरकारले देखाएको उदासीनता र दार्चुलेली जनताको भावनामाथि खेलबाड गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै विरोध गरेको तथा ज्ञापन बुझाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
राष्ट्रकै गौरवका रूपमा रहेको सडक निर्माणलाई प्राथमिकतामा राख्नुको साटो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले नयाँ बजेटमा अहिलेसम्मकै न्यून छ करोड ३१ लाख रुपियाँ मात्रै विनियोजन गरेकोमा कांग्रेस दार्चुलाले आपत्ति जनाएको छ ।
“सरकार दार्चुला–टिङ्कर सडक निर्माणमा संवेदनशील नभएको दार्चुलावासी जनता र नेपाली कांग्रेस दार्चुलाले स्पष्ट रूपमा बुझेका छौँ, नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता सङ्घीय, लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध जिम्मेवार राजनीतिक दल सरकारमा भएको बेला दार्चुलाप्रति अन्याय र विभेद पूर्ण निर्णय हुनुले जनतामा निराशा र असन्तुष्टि तीव्र बनेको छ, ज्ञापनमा भनिएको छ ।”
महाकाली कोरिडोर अन्तर्गतको तुसारपानी–टिङ्कर सडकखण्डमा नेपाली सेनाले पेस गरेको वार्षिक कार्ययोजना अनुसारको ५० करोड रुपियाँ विनियोजन गर्ने निर्णय सरकारले यथाशीघ्र गर्नुपर्ने कांग्रेसले जोडदार माग गरेको छ ।
नेपालबाट बाटो नहुँदा आफ्नै घर जान ब्याँसी सौका समुदायका मानिस भारतको अनुमति लिएर भारतको बाटो प्रयोग गर्न बाध्य छन् । जिल्ला सदरमुकाम खलङ्गादेखि टिङ्करसम्म सडक निर्माण गर्न सरकारले २०६७ सालदेखि दार्चुला–टिङ्कर सडक आयोजनामार्फत सडक निर्माण सुरु गरेको थियो । सरकारले २०७४ सालदेखि यो सडकलाई महाकाली कोरिडोरमा गाभेको थियो ।
दार्चुला–टिङ्कर सडकखण्डको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । बजेट अभावकै कारण नेपाली सेनाले आठ वर्षमा १३ किलोमिटर मात्रै सडकको नयाँ ट्र्याक खोलेको छ । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने व्यास गाउँपालिका भारत र चीनसँग सिमाना जोडिएको त्रीदेशीय ट्रान्जिट प्वाइन्टका रूपमा रहेको छ ।
यो क्षेत्र सामरिक, व्यापारिक, पर्यटकीय हिसाबले अति महìवपूर्ण छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मार्गका रूपमा दार्चुला–टिङ्कर सडक पर्दछ ।