केशवराज भट्ट
बासुलिङ्ग (बैतडी), जेठ २३ गते । पछिल्लो समय बैतडीका किसानहरु गोरु पाल्न छाडेर खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग बढाउन थालेका छन् । परिवारको युवा जनशक्ति रोजगारीका साथै पढाइ र अन्य कामका लागि बाहिर जाने क्रम बढेसँगै गोरु पाल्ने चलन कम हुँदै गएको हो । अचेल हरेक टोलमा हाते ट्याक्टर भित्र्याइएको छ ।
वर्षभरी गोरु पाल्न समस्या हुने भएकाले किसानले ट्याक्टरको विकल्प सहज देखेका हुन् । गोरु पाल्न छाडेपछि गोठालो जान हरेक दिन एक जना खटिनुपर्ने झन्झट नभएको र त्यो समय घरको अरु काममा दिन पाएको सूर्नया गाउँपालिका २ का अगुवा किसान मोहनबहादुर बिष्ट बताउनुहुन्छ । ‘‘गोरु पाल्दा गोबर मलको फाइदा भए पनि एक जना सधैँ खटिनुपर्दा साह्रै झन्झट हुन्थ्यो ।,’’ उहाँले भन्नुभयो, ‘‘हाते ट्याक्टर चाहेका बेला प्रयोग गर्न सकियो । डिजलबाहेक खासै खर्च पनि छैन । सस्तो र सजिलो हुँदा अचेल धेरै घरमा गोरु बेचेर ट्याक्टर किन्न थालिएको छ ।’’
मिनि ट्याक्टर नभएका किसानले डिजल खर्चबाहेक पन्द्र सय रुपियाँ ज्याला दिएर छरछिमेकबाट माग्ने गर्नुभएको छ । हरेकजसो गाउँमा ट्याक्टर किनेरै धेरैले दुई/चार जनाले मौसमी रोजगारी पनि पाइरहेको सूर्नया गाउँपालिका ३ का अर्का किसान रामदत्त भट्टले बताउनुभयो । ‘‘आफूले चाहेको समयमा ट्याक्टरको प्रयोगमार्फत खेतबारी जोत्न सकिने भएकाले श्रम र समय दुवैको बचत हुनुका साथै कम खर्चिलो भएको छ ।’’, उहाँले भन्नुभयो, ‘‘दुई/चार रोपनी जग्गामा जोत्नकै लागि वर्षभरी एक हल गोरु पाल्दा हुने खर्चभन्दा दुई दिन ट्याक्टरधनीलाई ज्याला दिएर जोत्नु धेरै सस्तो भइरहेको छ ।’’
हाते ट्याक्टरको प्रयोगले गाउँमा खेतबारी खन्ने जनशक्ति पनि कम चाहिने भएकाले बुढापाका मात्रै भएका परिवारमा खेतीका लागि धेरै नै सहज भइरहेको पाटन नगरपालिका ३ का दिपकबहादुर चन्दले बताउनुभयो । ‘‘गाउँमा युवा नहुँदा धेरै सिँचाइ हुने जग्गा पनि बाँझो हुँदै गएको थियो । प्रविधिको विकाससँगै हाते ट्याक्टरको प्रयोगले राहत मिलेको छ,’’ उहाँले भन्नुभयो । बारीमा फलफूलका बिरुवा हुँदा गोरु जोत्न असहज हुने बारीमा पनि ट्याक्टरको प्रयोग झन् बढेको चन्दले बताउनुभयो ।
हाते ट्याक्टरको माग बढेपछि पछिल्लो समय स्थानीय तह र अन्य सरकारी निकायले पनि किसानलाई हाते ट्याक्टर वितरण गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले जिल्लामा ट्याक्टरको माग धेरै नै भइरहेको बताउनुभयो । जिल्लामा वार्षिक एक हजार जति ट्याक्टरको माग हुने गरेको उहाँले बताउनुभयो । तीन वर्षयता ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा एक सय पचासभन्दा बढी हाते ट्याक्टर वितरण गरेको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले पनि अनुदानमा ट्याक्टर वितरण गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मात्रै तीन वर्षमा दुई सय वटा हाते ट्याक्टर वितरण गरेको बैतडीकी परियोजना इन्चार्ज भानाकुमारी भट्टले बताउनुभयो । जिल्लाको सूर्नया गाउँपालिकाले चालु आर्थिक वर्षमै किसानहरुलाई बारी खनजोत गर्न सजिलो होस् भन्ने उद्देश्यले ५३ वटा हाते ट्याक्टर वितरण गरको गाउँपालिका अध्यक्ष अमरबहादुर कुवरले बताउनुभयो । ‘‘युवाहरु धेरैजसो विदेश र सहरतिर लागेपछि गोरु पाल्ने जनशक्ति कमै घरमा मात्र छ । त्यसले सबैजसो किसानलाई हाते ट्याक्टर आवश्यक पनि भइसकेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘केही ठाउँमा त गोरु नहुँदा बारी बाँझाे बनेका छन् । त्यहाँका किसानलाई यसले साह्रै सहज भएको छ ।’’