• २४ जेठ २०८२, शनिबार

जङ्गलमा राखिएका काठ कुहिँदै

blog

कुहिने अवस्थामा रहेको काठको थुप्रो ।

हुम्ला समाचारदाता

हुम्ला, जेठ २३ गते । मुगु जिल्लाको सदरमुकाम गमगडीदेखि हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकाको सलीसल्लासम्मको सडक खन्ने क्रममा कटानी भएको काठ कुहिने अवस्थामा पुगेको छ । 

धेरै रुख काटिएको भए पनि त्यसको व्यवस्थापन हुन नसकेपछि सो काठ कुहिने अवस्थामा पुगेको स्थानीय भुल बोहराले बताउनुभयो । उहाँले ग्रामीण पहुँच कार्यक्रमबाट मुगु हुम्ला लिङ्क रोड निर्माण गर्ने क्रममा काटिएका सल्लाका रुखलाई कोलिया काटेर राखिएको तर हालसम्म कुनै प्रयोगमा ल्याउने कार्य नभएका कारण कुहिने अवस्थामा पुगेको बताउनुभयो । 

दुई हजारभन्दा बढी क्युफिट काठ बेवारिसे अवस्थामा रहेको छ । खुला राखिएका कारण हिउँदमा हिउँले र बर्खामा पानीमा भिजेर चाँडै कुहिने अवस्थामा पुगेको हो । उक्त कोलिया काठलाई एघार स्थानमा थुप्रो बनाएर राखिएको छ तर प्रयोगमा ल्याउने कुनै प्रयास नगरिएका कारण त्यतिकै खेर जाने अवस्थामा रहेको उहाँले बताउनुभयो ।