• २४ जेठ २०८२, शनिबार

गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

blog

तुलसीपुर (दाङ),  जेठ२३ गते ।  तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । “पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो”, स्थानीय नन्दकुमार पुनले भन्नुभयो, “अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।”

 कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताउनुभयो । “सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो”, उहाँले भन्नुभयो । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो ।

त्यसैगरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यतिमात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको स्थानीय डिला केसीले बताउनुभयो । “वर्षात्मा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ ।” जहाँ साढे तीन सय मिटर सडक कालोपत्र भएको हो । 

यी दुवै सडकका लागि रु. ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उहाँले यो ठाउँमा कालोपत्र गरिएको बताउनुभयो । “सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले निकै सहज बनाएको छ ।” यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताउनुभयो । आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्य गरिएको उहाँको भनाइ छ । रासस