• २४ जेठ २०८२, शनिबार

सञ्चारमन्त्री गुरुङ विराटनगरमा, गोरखापत्र कार्यालयको निरीक्षण गर्नुहुने

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ। फाइल तस्बिर

गोरखापत्र अनलाइन

विराटनगर,  जेठ २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार गोरखापत्र संस्थानको पूर्व क्षेत्र प्रकाशन विराटनगर कार्यालयको निरीक्षण गर्नुहुने भएको छ । 

मन्त्री गुरुङसहित सचिव राधिका अर्याल र मन्त्रालयका प्रतिनिधिहरु विराटनगर पुग्नुभएको छ । मन्त्रीसहितको टोलीले आज बिहान १० देखि २ बजेसम्म सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) को कार्यक्रममा सहभागी हुनुहुने मन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

सोपछि लगत्तै २ बजेपछि विराटनगर महानगरपालिका वडा १९, बैजनाथपुरमा रहेको गोरखापत्र प्रकाशनको कार्यालयमा अनुगमन निरीक्षणपछि छोटो औपचारिक कार्यक्रम हुने गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मन्त्री गुरुङसहितको टोलीलाई स्वागत तथा कार्यक्रमका लागि संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, सञ्चालक समिति सदस्य लक्की चौधरी, अर्थ विभाग प्रमुख राजुकुमार महत, कर्मचारी प्रशासन शाखाका प्रमुख नरेन्द्र श्रेष्ठसहितको टोली बिहीबार नै विराटनगर गोरखापत्र प्रकाशन कार्यालय पुगिसक्नुभएको छ ।

मन्त्री गुरुङले विराटनगरमा रहेको पिएसबीको कार्यालय, नेपाल टेलिकम, हुलाक कार्यालय, रासस कार्यालयको अनुगमन निरीक्षण तथा अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिनुभयो । मन्त्री गुरुङसहितको टोली सम्भवतः २४ गते साँझ काठमाडौं फिर्ता हुनुहुनेछ ।