गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २३ गते । तामाङ संस्कार, संस्कृति पुस्तान्तरण गर्ने लक्ष्यसहित काठमाडौँमा बिहीबारदेखि पाँचदिने तम्बासम्बन्धी प्रशिक्षण तथा सम्मेलन सुरु भएको छ । तम्बा सङ्घ नेपालद्वारा बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा आयोजित प्रशिक्षणमा पूर्वराजदूत गणेश योन्जनले तामाङ समुदायमा प्रचलित संस्कृतिको प्रवर्धनका लागि स्थापना भएको सङ्घले लक्ष्य अनुसार समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्धनमा उल्लेखनीय काम गरिरहेको बताउनुभयो ।
उहाँले विविध कारणले आफ्नो सांस्कृतिक अभ्यास बिर्सिंदै गएको अवस्थामा सङ्घले संस्कृति, रीतिरिवाज पुस्तान्तरणका लागि गरेको पहलको प्रशंसा गर्नुभयो । सङ्घका महासचिव खोजराज गोलेका अनुसार प्रशिक्षणको पहिलो दिन तम्बा परिचय, तम्बा किसिम, गेदुन र संरचनासम्बन्धी प्रशिक्षण भएको छ । पाँचदिने प्रशिक्षण अवधिमा तम्बा र तम्बाका सामग्री, ह्रामा/रमा र तम्बा ह्वै (तम्बा गीत), वाद्यवादन तथा गायन र तम्बा स्युब (तम्बा नाच) विषयमा प्रशिक्षण दिइने छ । समुदायको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा युवापुस्तामा हस्तान्तरण गर्ने अभियानमा २१ जिल्लाबाट तम्बाको सहभागिता रहेको छ ।