ज्योति पन्थी
बबई (बर्दिया), जेठ २० गते । सरकार र यातायात व्यवसायी महासङ्घबिच सोमबार राति ७ बुँदे सहमति भई यातायात सञ्चालन हुने भनिए पनि मङ्गलबार बर्दियामा यातायात सञ्चालन नुहँदा यात्रुहरू सङ्कटमा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङको विषयमा ल्याएको कानुन यातायात व्यवसायीको हितमा नरहेको भन्दै उक्त कानुन खारेज गरिनुपर्ने माग गर्दे यातायात बन्द गरेर यातायात व्यवसायीहरू सोमबार देखिनै आन्दोलनमा उत्रिदा यात्रुहरू भने बिचल्लीमा परेका छन् । बर्दियाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरू सञ्चालनमा आएका छैनन् भने यात्रुहरूलाई गन्तव्य स्थलमा पुग्न समेत समस्या भएको छ । बर्दियाबाट दैनिक लामो तथा छोटो दुरीका गरी करिब एक सयभन्दा बढी सवारी साधनहरू सञ्चालन हुँदै आएका छन् ।
सोमबारदेखि गरिएको अनिश्चित बन्दका कारण मानिसहरू विभिन्न कामका लागि जिल्ला बाहिर जाने अवस्था नरहेको र अनावश्यक बन्दका कारण यात्रुहरूको बिचल्ली परेको गुलरिया नगरपालिका ७ बस्ने सुधा शर्माले बताउनुभयो । गण्डकी प्रदेश सरकारको विषयलाई लिएर देशभर आन्दोलन गर्नु यात्रुहरू माथिको अन्याय भएको मधुवन नगरपालिका ८ भोदु थारूले बताउनुभयो ।
यातायात व्यवसायी महासङ्घसँग गृह मन्त्रालयले सोमबार राति गरेको निर्णयमा यातायात सञ्चालन गर्ने निर्णय भएको भए पनि यातायात व्यवसायीले निर्णय लत्त्याएको आरोप स्थानीयले लगाएका छन्। सरकारसँग वार्ता गरिसकेपछि यातायात बन्द गर्नु सहमतिको कार्यान्वयन नहुनु हो बासगढी नगरपालिका बासगढी बजारका स्थानीय जीवन पन्थीले बताउनुभयो ।
सरकारसँग ७ बुँदे सहमति भएको भए पनि यातायात व्यवसायीका सबै माग पूरा नहुँदासम्म यातायात सञ्चालन नगर्ने यातायात व्यवसायी महासङ्घको निर्णय बमोजिम बर्दियामा समेत यातायात बन्द गरिएको कृष्णसार यातायात व्यवसायी प्रालीका कोषाध्यक्ष प्रकाश टण्डनले बताउनुभयो । बर्दियाबाट देशका विभिन्न सहर काठमाडौँ, चितवन, पोखरा, बुटवल, भैरहवा, दाङ, सुर्खेत, कैलाली लगायतका जिल्लाहरूमा यातायात सञ्चालन हुँदै आएको छ ।
यातायात व्यवसायीलेनै बन्दको आव्हान गरे पछि बर्दियको गुलरिया, मधु वन, राजापुर, भुरिगाउँ, बासगढीमा यातायात पूर्णरूपमा ठप्प छ ।