शंकर केसी
सल्यान, जेठ २० गते । सल्यानको दोस्रो अग्लो लेकको रूपमा परिचित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेकसम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ अनुदान र स्थानीयहरूको श्रमदान सहित करिब १८ लाख रुपियाँको लागतमा पदमार्ग निर्माण गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
“कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित बजेटबाट हाम्रो कार्यालयमार्फत योजना कार्यान्वयन गरिएको हो”, डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजङ्ग खड्काले भन्नुभयो, “पदमार्ग, सिँढी र त्यहाँ रहेको मन्दिरमा दुई वटा ढोका निर्माण गरिएको छ ।”
जिल्लाको कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाको बिचमा अवस्थित यो कुमाख लेक धार्मिक गन्तव्य मात्रै नभएर कर्णाली प्रदेशकै एक आकर्षक ट्रेकिङ र आन्तरिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुने अपेक्षा गरिएको छ । जिल्लाकै दोस्रो अग्लो भू–भागका रूपमा रहेको कुमाख दुई हजार ५३७ मिटरको उचाइमा छ । यहाँबाट रुकुम, रोल्पा, बाँके, जाजरकोट लगायत १५ जिल्लाका गाउँबस्ती, पहाड र फाँटहरू एकै नजरमा हेर्न सकिन्छ । यस्तो अद्भुत भौगोलिक विशेषताले गर्दा यो क्षेत्र प्राकृतिक भ्यु टावरका रूपमा पनि चिनिन्छ ।
स्थानीयका अनुसार, कुमाखको फेददेखि लेकसम्मको यात्रा लामो समयदेखि जोखिमयुक्त थियो । भक्तजन र पर्यटकहरूले पुरानो गोरेटो बाटो प्रयोग गरेर लेकसम्म पुग्ने गर्थे । पदमार्ग निर्माण सँगै धेरै सहजता थपिएको स्थानीयको भनाइ छ । कुमाख टाउरामा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव मोहन डिसीले चट्टान फोडेर पदमार्ग बनाइएको भन्दै अब पहिलेजस्तो जोखिम नरहेको बताउनुभयो ।
कुमाख लेकमा अझै धेरै संरचना बनाउनुपर्ने आबश्यकता छ । रेलिङ, फिल्ड निर्माण, मन्दिरको पुनःनिर्माण लगाएतका काम बाँकी रहेकाले प्रदेश सरकारसँग थप बजेट माग गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले यदि कुमाखमा केबुलकार बनाउन सकियो भने, आन्तरिक मात्र होइन, बाह्य पर्यटकको सङ्ख्या पनि गुणात्मक रूपमा बढ्ने बताउनुभयो । हाल कुमाख मेला हेर्न र मन्दिर दर्शन गर्न करिब डेढ लाख नागरिक हरेक वर्ष पुग्ने गरेका छन् । यस्तो भिड व्यवस्थापन र पर्यटन प्रवर्धनका लागि भविष्यमा केबुलकार निर्माणको आवश्यकता महसुस गरिएको उहाँको भनाइ छ । यस्तै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले कुमाखलाई साँचिक्कै पर्यटन गन्तव्य बनाउन प्रचारप्रसार र दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।
कुमाख केवल दृश्यावलोकनको गन्तव्य होइन, बर्सेनि हजारौं भक्तजनको आस्थाको केन्द्र पनि हो । मन्दिरका पुजारी खिमलाल डाँगीका अनुसार यहाँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गर्दछ । यो मेलामा सल्यानका विभिन्न क्षेत्र र छिमेकी जिल्लाबाट पनि श्रद्धालुहरू आउने गर्दछन् । यो मेला धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण मानिन्छ ।
कुमाख क्षेत्र प्राकृतिक स्रोत साधनले पनि भरिपूर्ण छ । यहाँ पाइने बहुमूल्य जडीबुटीहरू, विविध वनस्पति र वन्यजन्तुहरूले यसको जैविक विविधता झल्काउँछन् । साँझपख टुप्पाबाट देखिने रङ्गीन आकाश, चारैतिर फैलिएको हरियाली र शान्त वातावरणमा रमाउने जङ्गली जनावरहरूले यो स्थानलाई अझै आकर्षक बनाउने गरेका छन् ।