साहारा लिम्बू
फुङलिङ, जेठ १९ गते । सशस्त्र प्रहरी बल नम्बर एक गुल्म हेडक्वार्टर कञ्चनजङ्घाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गुल्मको परिसरभित्र निर्मित सिनियर अधिकृतको मेस तथा गुल्मपति कार्यकक्षको उद्घाटन गरिएको हो ।
मजकुर सशस्त्र प्रहरी बल नेपाल नम्बर एक वराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मपतिको एउटा कार्यकक्ष, मेसका लागि एकएक ओटा किचन तथा डाइनिङ रुम सहितको भवन निर्माण गरी उद्घाटन गरिएको छ ।
बाहिनीपति प्रहरी नायब महानिरीक्षक न्यौपाने र प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । करिब ४० लाख रुपियाँको लागतमा भवनको निर्माण सम्पन्न भएको गुल्मपति प्रनाउ महर्जनको भनाइ छ ।
यस्तै बाहिनीपति प्रनाम न्यौपानेले गुल्मको निरीक्षण समेत गर्नुभएको छ । पाथीभरा दर्शनका लागि ताप्लेजुङ आउनु भएको अवसरमा उहाँले गुल्मको निरीक्षण तथा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको बताइएको छ ।
उद्घाटन कार्यक्रममा बाहिनीपति प्रहरी नायब महानिरीक्षक न्यौपाने, प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभाग ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जय मण्डल, जिल्लाका विभिन्न क्षेत्रमा रहेका इलाका कार्यालयका प्रहरी निरीक्षक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।