अविनाश चौधरी
धनगढी, जेठ १९ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गा दसहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले पालिकाभरि स्थानीय सार्वजनिक बिदा दिएको छ ।
सो पालिकाले गङ्गा दसहरा तिथि जेठ २२ गतेका दिन पालिकाभरका सबै सरकारी कार्यालय, शिक्षण संस्था एवम् सङ्घसंस्थाहरू बन्द रहने गरी स्थानीय सार्वजनिक बिदा दिएको हो । हरेक वर्ष जेठ शुक्लपक्ष दशमी तिथिका दिन गङ्गा दसहरा मनाइने गरेको छ । सो दिन नेपाल, भारतका हजारौं तीर्थालुहरूले विशेष आस्था र महत्त्वका साथ बेहडाबाबाको दर्शन र पूजाआजा गर्ने गरेका छन् ।
जिल्लामै प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्दै लैजाने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । बेहडाबाबाको महत्त्वलाई दृष्टिगत गरी गङ्गा दसहरालाई पर्वकै रूपमा मनाउनका लागि पालिकाले स्थानीय सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिनुभयो ।