तुलसीपुर, जेठ १९ गते । नेपाल वायुसेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ । टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो ।
टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानुपर्ने अवस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटरको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा बनेको हो । रासस