• १६ जेठ २०८२, शुक्रबार

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, यो नियोजित आक्रमण होः गृहमन्त्री लेखक

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै गृहमन्त्री रमेश लेखक।

काठमाडौँ, जेठ १४ गते। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो। 

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचार अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताउनु भयो। 

उहाँले आफूलाई संलग्नता देखाएर सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत अभिव्यक्त धारणा असत्य र गलत भएको दाबी गर्नुभयो। उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको जिकिर गर्नुभयो। 

गृहमन्त्री लेखकले आफूमाथिको आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित भएको जिकिर गर्नुभयो। उहाँले आफूमाथिको आक्रमण षड्यन्त्र मुलुक रहेको र यसको क्रमजारी छ भन्ने अनुभूति गरेको समेत बताउनुभयो।  

उहाँले भन्नुभयो, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको यो विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने ढङ्गले विभिन्न प्रचार, समाचार र सामाजिक सञ्जालमार्फत विचार अभिव्यक्ति भएका छन्। यो विषयमा मेरो संलग्नता देखाएर  समाचार र सामाजिक सञ्जालमार्फत धारणा अभिव्यक्त भएका छन्, यो असत्य कुरा हो, यो बेठिक कुरा हो र यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा यहाँमार्फत निवेदन गर्न चाहन्छु। मलाई मेरो विरुद्धमा नियोजित, षड्यन्त्रपूर्ण ढंगले आक्रमण गरिएको छ। यो आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित छ। षड्यन्त्र मुलुक छ र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु।”   

भिजिट भिसामा विदेश जानेसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखकले आरोप खेप्नुभएको छ। उहाँले मङ्गलबार र बुधबारको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने तयारी गरे पनि विपक्षी दलका सांसदले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको छ। विपक्षी दलले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग राखेका छन्।