काठमाडौँ, जेठ १५ गते । रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ ।
भारत रत्न श्री अटलबिहारी भाजपाइ एकान क्रिकेट मैदानमा मङ्गलबार राति भएको लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै बेङ्लुरुले पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
जितसँगै १४ खेलबाट १९ अङ्क बनाएको बेङ्लुरु दोस्रो स्थानमा रह्यो । पराजित लखनउ १२ अङ्कसहित सातौँ स्थानमा रह्यो । जितका लागि घरेलु टोली लखनउले दिएको दुई सय २८ रनको लक्ष्य बेङ्लुरुले १८.४ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।
बेङ्लुरुका लागि कप्तान जितेश शर्माले अविजित ८५ रन बनाउनुभयो । उहाँले ३३ बलमा आठ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै विराट कोहलीले ५४, मयंक अग्रवालले अविजित ४१, फिल साल्टले ३० र रजत पाटिदार १४ रन बनाउनुभयो ।
बलिङमा लखनउका विलियम ओ’रोर्कले दुई तथा आवेस खान र आकाश सिंहले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो ।
लखनउका लागि कप्तान ऋषभ पन्तले अविजित एक सय १८ रनको सतकीय पारी खेल्नुभयो । उहाँले ६१ बलमा ११ चौका र आठ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस्तै मिचेल मार्शले ६७, म्याथ्यु ब्रिट्ज्केले १४ र निकोलस पुरनले १३ रन जोड्नुभयो । बलिङमा बेङ्लुरुका रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले एक एक विकेट लिनुभयो ।
यस खेलसँगै लिगको प्लेअफ समीकरण पूरा भएको छ । प्लेअफमा पहिलो क्वालिफायरमा बेङ्लुरु र पञ्जाव किंग्स तथा इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुने छ । एजेन्सी