काठमाडौँ, जेठ १४ गते । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा गणतन्त्र दिवसको अवसर पारेर आयोजित ‘लोकतान्त्रिक आन्दोलन र तीर्थराम डंगोल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले राजतन्त्र पुनस्थापना पक्षधरले गरिरहेको आन्दोलनतर्फ लक्षित गर्दै उहाँले राजतन्त्रबाट केही नहुने बताउनुभएको हो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कसैको दयामायाले नभई जनताको संघर्षबाट प्राप्त भएको बताउनुभयो । ‘‘राजतन्त्र देखेकै हो । संवैधानिक राजतन्त्र पनि । मौका पाउनासाथ जनतालाई अधिकारविहीन बनाउने बाहेक केही पनि हुादैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमै जनताको हित हुन्छ । यसैलाई विकास गरे संस्थागत गरेर अगाडि जानुको अरु कुनै विकल्प छैन ।’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
जनताले लामो संघर्षबाट प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्न नहुने भन्दै उहाँले अधिकारसँगै जिम्मेवारीप्रति पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । ‘‘तपाईं हाम्रो काँधमा आएको चुनौतिलाई सामना गर्दै ०७२ सालमा जारी भएको संविधानलाई संस्थागत रुपमा अगाडि बढाएर राजनीतिक स्थिरताको आधारमा आम नेपाली जनताले चाहेको हरेकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने चाहना पूरा गर्नुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘यो गर्न सक्यौँ भने तीर्थराम दाईसहित लोकतान्त्रिक आनदोलनमा योगदान गर्नेहरुप्रति उच्च सम्मान हुन्छ । त्यसका लागि राजनीतिक स्थिरताको जगमा आर्थीक समृद्धिमा अब ध्यान दिनुपर्छ ।’’
नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहनुभएका सिंहले प्रजातन्त्र पुनःस्थापनापछि पूर्वाधारको विकासमा धेरै काम भएको दाबी गर्नुभयो । ०४८ साल अगाडि काठमाडौँमै विकासको अवस्था कमजोर रहेको भन्दै कुनै योगदान नगरेका र सामाजिक सञ्जालबाट उदाएका पार्टीहरुले केही पनि भएन भनेर झुटको खेती गरिररहेको बताउनुभयो ।
‘‘०४८ सालमा म काठमाडौँ ४ बाट उठ्दा यहाँको हालत के थियो । मानिसहरुले मुस्किलले जुत्ता लाउन पाउँथे । खानेपानीको सुविधा थिएन । बाटोघाटो थिएन । राजधानीको हलत त्यस्तो थियो,’’ उहाँले भन्नुभयो, ‘‘अहिले अवस्था धेरै फरक भएको छ । तर पनि केही भएन, केही भएन भन्छन् । सिन्को नभाँचेका, केही योगदान नगरेकाहरु केही भएन भन्दै हामी गछौं भनेर आउँछन् । के यो सम्भव छ ? नेपाली कांग्रेस जस्तो एकपछि अर्को परीक्षा पास गरेको पार्टीलाई त जनताले प्रश्न गर्छ भने केही गर्दै नगरेको, सामाजिक सञ्जालको माध्यमबाट आएकाहरुले सही अर्थमा गर्न सक्छन् ?’’