काठमाडौँ, जेठ १४ गते । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा हाउन्ड्स एकेडेमीले छैटौँ जित निकालेको छ । कीर्तिपुर कभर्डहलमा जारी लिगमा हाउन्ड्सले कीर्तिपुरमाथि ८८–८३ को रोमाञ्चक जित निकालेको हो ।
जितपछि १३ अङ्क जोडेर हाउन्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर सात खेलबाट नौ अङ्क जोड्दै पाँचौँ स्थामना छ । पहिलो क्वाटर कीर्तिपुरले २४–२३ ले अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउन्ड्सले पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पारेको थियो ।
हाउन्ड्सले तेस्रो क्वाटर पनि २४–१८ ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २१–१७ ले आफ्नो पक्षमा पारेपनि हार टार्न सकेन ।
हाउन्ड्सका सौरभ श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । कीर्तिपुरका लागि निश्चल महर्जनले २८ स्कोर गर्नुभयो । हाउन्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ स्कोर गर्नुभयो ।
अर्को खेलमा सामाखुसीले रोयललाई ८७–८० ले पराजित गर्दै पहिलो जित हात पारेको छ । सामाखुसीले सातौँ खेलमा आएर पहिलो जित निकालेको छ ।
पहिलो क्वाटरमा सामाखुशी र रोयल दुवैले समान १८ अङ्क बनाउनुभयो । दोस्रो क्वाटर रोयलले २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि तेस्रो क्वाटर २०–१४ ले आफ्नो पक्षमा पारेको सामाखुशीले चौथो क्वाटर २७–२३ ले जितेको थियो ।
सामाखुशीको जितमा २३ स्कोर गर्नुभएका प्रज्वल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । रोयलका लागि प्रसङ ध्वज मास्केले २६ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।
सामाखुशीले पहिलो जितसँगै सात खेलबाट आठ अङ्क बनाएको छ । सामाखुशी अन्तिम स्थानमै छ । पाँचौ हार खेपेको रोयलको सात खेलमाट आठ अङ्क छ ।