सन्तोष राउत
सोलुखुम्बु, जेठ १४ गते । गैरसरकारी संस्थासँगको साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिका र ‘पाइला पाइलाको आशा’ संस्थाबिचको सहकार्य तथा लागत साझेदारीमा निर्माण थालिएको वडा नं. ११ का वडाध्यक्ष टङ्कबहादुर कार्कीले जानकारी दिनुभयो ।
करिब एक वर्षमा काम सम्पन्न गर्ने गरी पिके कन्ट्रक्सनले स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको छ । एक करोड ७१ लाख १४ हजार रुपियाँमा निमार्ण हुने भवनको सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले शिलन्यास गर्नुभएको छ ।
त्यस अवसरमा नगर प्रमुख शेर्पाले नगरपालिकाले स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखी विभिन्न योजनाहरू अघि बढाइरहेको उल्लेख गर्दै भवन निर्माण कार्य छिटो सम्पन्न गरी सेवा प्रवाह गर्ने बताउनुभयो ।
ग्रामिण क्षेत्रको स्वास्थ्य सेवाको पहुँचलाई सुदृढ र गुणस्तरीय बनाउने उद्देश्यले भवन निर्माणमा सहयोग गरेको पाइला पाइलाको आशाका अध्यक्ष डा. पासाङकाजी लामाले बताउनुभयो । नयाँ भवन निर्माणसँगै आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास स्थानीयको छ ।