• २४ जेठ २०८२, शनिबार

जिते बजारको अनुमान गर्न कठिन

blog

जिते बजार । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, जेठ १४ गते । कुनैबेला निकै सजिएको कालीकोटको जिते बजार पछिल्लो समय अनुमान गर्न पनि नसकिने गरि खाली भएको छ । बजारको सिरानीमा कर्णाली राजमार्ग, आँगनमा कर्णाली र तिलानदीले उच्च जोखिमा रहेको कालीकोटको खाडाँचक्र नगरपालिका २ स्थित जितेबजार कुनैबेला निकै चर्चामा थियो । 

तर अहिले भने यहाँ बजार थियो कि, थिएन भन्ने अनुमान लगाउन नसकिने गरि खाली भएको छ । यहाँ बसोवास गरेर व्यापार गर्ने व्यापारीले जिते बजार छोडेपछि बजारको मुहार नै हराएको हो । 

२०६३ सालदेखि कालीकोटका तत्कालीन १७ गाउँविकास समिति र वाजुरा, मुगु र हुम्ला जिल्लाका नागरिकलाई लक्षित गरेर स्थापना भएको जिते बजार जोखिमका हिसावले उच्च थियो । पटकपटक जिल्ला प्रशासन कार्यालयले उक्त स्थान छाड्न पत्राचार गर्दा समेत जितेबाट अन्यत्र जान नमानेका व्यापारी अहिले भने आफै तितर–बितर भएका छन् । 

कर्णाली नदीको खुलालुमा पक्की पुल बनेसँगै जिते बजार खाली भएको हो । जिते बजारमा लामो समय व्यापार गर्दै आउनुभएका व्यापारी महिन्द्रा कठायतले खुलालमा पक्की पुल बनेसँगै दैनिक उपभोग्य समान सिधै ढुवानी हुन थालेपछि जितेबजार खाली भएको बताउनुभयो । कुनैबेला यही झुलुङ्गे पुलबाटै दैनिक उपभोग्य वस्तु ओसारपोसार हुँदा बजारको सान छुट्टै थियो । अझै भन्दा पहिला कर्णाली काेरिडोर निमार्ण हुँदै थियो । 

कालीकोटका कर्णाली पारीका १७ गाउँविकास समिति र बाजुराको पूर्वी क्षेत्र, मुगुको तल्लो भाग र हुम्लाका केही नागरिकलाई चाहिने दैनिक उपभोग्य वस्तु जितेबाट ढुवानी हुने गरेको थियो । त्यो समयमा जिते बजारको शान छुट्टै थियो, सानो एक कोठा बनाउने जमिनको भाडा पनि उच्च थियो । व्यापार पनि उस्तै थियो । उक्त समयमा व्यापारीले प्रशासनको उर्दिलाई समेत मानेन । भिरबाट ढुङ्गा खसेर पाँच जनाको ज्यान समेत गयो । 

तर पनि जिते नछोडेका व्यापारी अहिले व्यापार शून्य भएपछि आफै हिँडेको कठायतको भनाइ छ । अहिले सुर्खेत नेपालगञ्जबाट मालवहाक गाडिहरु सिधै कर्णाली नदीमाथि बनेको खुलालु पुलवाट करिडोर भएर चल्न थालेपछि जितेको बजारको रुपरेखा पुरै हराएको छ ।  

कालीकोट उद्याेग बाणिज्य संघका अध्यक्ष रतनवहादुर शाहीले ज्यानको जोखिम भएकाले धेरै पटक हामी मार्फत पनि प्रशासनले व्यापारीलाई सुरक्षित स्थानमा सार्ने पहल गरेको थियो । त्यो समयमा म बजार ब्यवस्थापन समितिमा पनि थिए । धेरै पटक कुरा गर्दा पनि यहाँका साथीहरुले मान्नु भएन । ज्यानको कुरा भन्दा पनि ब्यापारमा उनीहरुको चासो बढी थियो । 

कसैले पनि सकेनौ, अहिले आफै ठाउँ छोडेर गए । यहाँ ज्यान भन्दा पनि रुपियाँ प्रमुख रहेछन भन्ने प्रमाणित भयो, अध्यक्ष शाहीले सुनाउनुभयो ।  यस्तै धेरै जोखिम बजार थिए । वर्षातको समयमा ज्यान जाने भएपनि व्यापारीले उक्त ठाउँ छोड्न मानेका थिएनन । अहिले भने आफै छोडेर व्यापारी अन्यत्र जादा यहाँको बजारको अनुमान गर्न लायक मात्र छ ।