• १७ जेठ २०८२, शनिबार

वेद र वेदका मन्त्र

blog

वेद मानव सभ्यताको सर्वप्राचीन शास्त्र हो । बृहत् नेपाली शब्दकोशले वेदलाई आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ भनेको छ । वेदले प्राचीन सभ्यताको प्रतिविम्ब प्रदान गरेको छ । संस्कृत साहित्यमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदका चार प्रकार उल्लेख गरिएको छ ।

ऋग्वेद : ऋग्वेदलाई वेदहरूमध्येकै सबैभन्दा पुरानो ग्रन्थ मानिएको छ । अध्येता सांकृत्यायनले ऋग्वेदलाई आर्य सभ्यताको प्राचीन साहित्यका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार ऋग्वेदको समय इपू १५०० वर्षभन्दा पुरानो छ ।

अध्येता शिवराज कौण्डिन्न्यायनले ऋग्वेदलाई भूमण्डलको सबैभन्दा जेठो ग्रन्थ हो भन्दै ऋग्वेदका सूक्तमा धार्मिक, आध्यात्मिक विषयका अतिरिक्त भौतिक, वैज्ञानिक, शैक्षिक, भाषिक, साहित्यिक, सांस्कृतिक, सामाजिक, राजनीतिक इत्यादि विषयहरू समेटिएको कुरा उल्लेख गरेका छन् ।

ऋग्वेदका ऋचा छन्दोबद्ध कविता स्वरूपमा रहेकाले ऋग्वेदलाई ऋगवेद संहिता भनेर उल्लेख गरिएको छ ।  ऋग्वेदको प्रत्येक सूक्तको शिरमा देवता, ऋषि र छन्द उल्लेख भएको देखिन्छ । ऋग्वेदको सबैभन्दा सानो भागलाई ऋचा, ऋचाहरूको समूहलाई सूक्त र सूक्तहरूको समूहलाई मण्डल तथा अध्यायका रूपमा उल्लेख गरिएको छ ।

ऋग्वेदभित्र १० मण्डल, एक हजार अट्ठाइस सूक्त र १० हजार ५५२ मन्त्र तथा ऋचा रहेका छन् । विद्वान् कपिलदेव द्विवेदीले ऋग्वेदमा आर्य संस्कृतिको विशद् निरूपण गरिएको बताएका छन् ।

विद्यालङ्कारले ऋग्वेदमा कुल १०२८ सूक्त रहेका, जसमा मूल रूपमा १०१७ सूक्त र ११ बालखिल्य सूक्त रहेको उल्लेख गरेको देखिन्छ । बालखिल्य सूक्तलाई परिशिष्टका रूपमा राखिएको छ । केही विद्वान्ले बालखिल्य अन्तर्गत रहेका सूक्तलाई वेदको अङ्ग नमानेर वेदका खास सूक्त १०१७ मात्रै हुन भन्ने तर्क पनि गरेका छन् ।

ऋग्वेदलाई मध्य एसियादेखि सप्त सिन्धु र गङ्गा नदीसम्म बसोबास गर्ने आर्य जातिको साहित्यका रूपमा चर्चा गर्दै अध्येता मदनमणि दीक्षितले ऋग्वेदका सूक्तले कृषि कार्य र अन्न उत्पादनमा विशेष जोड दिएको बताएका छन् । ऋग्वेदका सूक्तले यज्ञ कार्यमा विशेष जोड दिएको देखिन्छ । त्यसैले अग्निले प्रथम जस्तै स्थान प्राप्त गरेको छ ।  ऋग्वेदको पहिलो सूक्तमा नै अग्निलाई देवताका रूपमा उल्लेख गरिएको छ र प्रथम ऋचाको प्रारम्भ नै अग्नि शब्दबाट भएको छ ।

यजुर्वेद : यज धातुले यज्ञ गर्नु भन्ने बताउँछ । त्यसैले पूजा र यज्ञसम्बन्धी ऋचाहरूको सङ्ग्रह भएको वेदलाई यजुर्वेद भनिएको छ । यजुर्वेदका ऋचा ऋग्वेदबाट पनि लिइएका छन् । यजुर्वेदमा यज्ञलाई असाधारण महत्व दिइएको छ ।

आवश्यकतानुसार दृष्टि, समृद्धि र मनोवाञ्छित फल प्राप्तिका लागि यज्ञको महत्व जोडिएको छ । यज्ञका साथै यस वेदले सामाजिक, आर्थिक सामग्रीहरू उपलब्ध गराउनुका साथै अङ्क गणितीय र ज्यामितीय स्रोत पनि उपलब्ध गराएको छ  ।

सामवेद : सामको अर्थ गीतियुक्त भन्ने बुझिन्छ । त्यसैले साङ्गीतिक ऋचाहरूको सङ्ग्रह भएको वेदलाई सामवेद भनिएको छ । वेदका पद्यात्मक मन्त्रलाई गीतको कौशलमा प्रयोग गरिएपछि सामवेद बनेको मानिन्छ । सामवेदमा  अधिकांश ऋचा ऋग्वेदभित्र बाटै सङ्गृहीत भएका छन् । सामवेदमा रहेका कुल १८७५ मन्त्र  तथा ऋचामध्ये १७७१ ऋग्वेदीय मन्त्र र १०४ सामवेदमा नयाँ मन्त्र रहेको देखिन्छ ।

अथर्ववेद : वैदिक कालको पछिल्लो समयमा सङ्कलित भएका ऋचाको सङ्ग्रहलाई अथर्ववेद भनिएको छ । अथर्वनको अर्थ गतिहीन तथा स्थिरता भन्ने बुझिन्छ । त्यसैले यस वेदलाई स्थिरता तथा चित्तवृत्तिको निरोधरूपी भोगको उपदेशका रूपमा लिइन्छ ।

अथर्ववेदका अधिकांश मन्त्र अङ्गिरा नामका ऋषि र उनका वंशजद्वारा सङ्कलन गरिएका कारण यसलाई अङ्गीरस वेद पनि भनेको पाइन्छ । वैदिक दर्शनको सबैभन्दा पुुष्ट र प्रामाणिक स्रोतका रूपमा अथर्ववेदलाई मानिएको छ । यसभित्र सामाजिक र राजनीतिक स्थितिको सुन्दर चित्रण गरिएको छ ।

यो एक प्रकारको विश्वकोष हो र यसमा वेदकालीन सभ्यता, संस्कृति, ज्ञान र विज्ञानको पूर्ण सङ्ग्रह रहेको द्विवेदीले उल्लेख गरेका छन् । उनका अनुसार अथर्ववेदलाई जनताको वेदका रूपमा लिन सकिन्छ भन्दै यसमा ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र र स्त्रीलाई समान रूपमा स्थान दिइएको कुरा उल्लेख गरिएको छ । अथर्ववेद एक मात्र यस्तो वेद हो जसमा लौकिक र अलौकिक दुवै दृष्टिको उपादेयता रहेको कुरा उल्लेख गरिएको छ ।

वेदका भाग

राधाकृष्णननले मन्त्रसंहिता, ब्राह्मण र उपनिषद् एवं अरण्यक गरी हरेक वेदका तीन भाग रहेको बताएका छन् । यज्ञ कार्यमा प्रयोग गरिने वेद वाक्यलाई मन्त्र र तिनै मन्त्रको समूह भएको वेदग्रन्थलाई मन्त्रसंहिता भनिएको छ ।

यज्ञको विधान, स्वरूप, फल, यज्ञमा आवश्यक पर्ने सामग्री, यज्ञका देवता, यज्ञ कर्मको प्रशंसा वा गर्न नहुने कर्मको निन्दा, यज्ञका कारणलगायतका धार्मिक कर्तव्यको विधानको व्याख्या गरिएको वेदवाक्यको सङ्ग्रहलाई ब्राह्मण ग्रन्थ भनिएको छ  । ब्राह्मण ग्रन्थमा मन्त्रहरूका व्याख्या र विनियोग प्रस्तुत गरिएको हुन्छ । संहितामा स्तुति हुन्छ भने ब्राह्मणमा यज्ञ विधि विधानलाई सरल रूपमा प्रस्तुत गरिएको छ । ऋग्वेद अन्तर्गत ऐतिरेय र शाखायन (कौषितकी) गरी दुई वटा ब्राह्मण ग्रन्थ रहेको उल्लेख गरिएको छ ।

उपनिषद् एवं आरण्यक वेदको तेस्रो भाग हो । जसलाई ब्राह्मण ग्रन्थकै अन्तिम भाग मानिन्छ । जसभित्र दार्शनिक समस्याको विवेचना गरिएको छ । गुरुसित घरमा पढ्न नहुने, वनमा गएर पढ्न पर्ने साधारण मानिसका लागि डरलाग्दो वा कहालीलाग्दो रहस्य प्रकाशित गर्ने वेदभागलाई आरण्यक भनिएको छ ।

यस्तो वेद–भाग मन्त्ररूप हुन पनि सक्छ, ब्राह्मण रूप पनि हुन सक्छ । तथापि ब्राह्मण रूप देखिन्छ । मुख्य रूपमा जीवात्माको र परमात्माको एकता अर्थात् ब्राह्मात्म तत्व बुझाउने अरण्यककै एक भागलाई उपनिषद् भनिएको छ ।

वेदमा छन्द, ऋषि र देवता

वेदका हरेक सूक्तमा ऋषि, देवता र छन्दको व्यवस्था भएको छ । ऋषि भन्नाले मन्त्रका रचयिता भन्ने बुझिन्छ । जसलाई मन्त्र द्रष्टा भनिएको छ । सूक्तहरूमा सङ्कलन भएका ऋचामा जसप्रति स्तुति तथा प्रार्थना, याचना, निवेदन अनुरोध गरिएको छ, उसैलाई देवता मानिएको छ । सङ्कलित ऋचालाई श्रुतिपरक तथा श्रुतिमधुर बनाउन हरेक ऋचा छन्दोबद्ध रूपमा प्रस्तुत गरिएको छ । त्यसैले हरेक सूक्तमा ऋषि, देवता र छन्दको व्यवस्था देख्न सकिन्छ ।

ऋग्वेदका मन्त्र द्रष्टा ऋषिहरूमा दीर्घतमा, मधुछन्दाः, मेधातिथि, अगस्त्य, गौतम, पराशर, गृत्समद, विश्वामित्र, वामदेव, अत्रि, भारद्वाज र वशिष्ठ प्रमुख रूपमा रहेका छन् । पहिलो मण्डल मधुछन्दा, मेधातिथि, दीर्घतमा, अगस्त्य, गौतम, पराशर आदिद्वारा तथा दोस्रो मण्डल गृत्समद एवं उनका वंशजद्वारा अनि तेस्रो मण्डल विश्वामित्र एवं उनका वंशजद्वारा र चौथो मण्डल वामदेव एवं उनका वंशजारा निर्माण गरिएको भनिएको छ ।

पाँचौँ मण्डल अत्रि एवं उनका वंशजद्वारा, छैटौँ मण्डल भारद्वाज एवं उनका वंशजद्वारा, सातौँ मण्डल वशिष्ठ एवं उनका वंशजद्वारा, आठौँ मण्डल कण्व, भृगु र आङ्गिरसका वंशहरूबाट निर्माण भएको मानिन्छ । नवौँ तथा दशौँ मण्डलको निर्माण वैवस्वत मनु, विमद, इन्द्र, त्रित, विमद, इन्द्र, श्रद्धा, कामायनी, इन्द्राणी, शची, उर्वशी, सोमलगायतका विभिन्न ऋषिबाट निर्माण भएको बताइएका छ ।

ऋग्वेदका मन्त्र महिलाद्वारा पनि निर्माण भएको देखिन्छ । जसलाई मन्त्रद्रष्टा ऋषिका भनिएको छ । ऋग्वेदका १०२८ सूक्त एवं १०५५२ ऋचामध्ये ४२३ वटा ऋचा ऋषिकाद्वारा सृजना गरिएका छन् । सूर्या, सावित्री, घोषा, सिकता निवावरी, यमी वैवस्वती, दक्षिणा प्राजापत्या, अदिति, इन्द्राणीलगायतका २४ ऋषिकाद्वारा ऋग्वेदका मन्त्रहरू निर्माण गरिएका हन् ।

वेदका मन्त्र संरक्षणको उपाय

वेदका ऋचा कहिले निर्माण भए भन्ने बारेमा फरक फरक मत रहेका छन् । आजभन्दा करिब चार हजार वर्षपहिला नै वेदका ऋचा सृजना भएको कुरामा धेरैको मत मिल्छ । वेद सृजना हुँदाको समयमा लिपिको विकास भइसकेको थिएन । त्यसैले त्यस बखतमा वेदका ऋचा लिपिबद्ध हुन नसकी श्रुतिपरक रूपमा एक पुस्ताबाट अर्को पुस्तासम्म सर्दै आएको देखिन्छ । यसरी एक पुस्ताबाट अर्को पुस्तामा सर्दा वेदका मन्त्र छुट्न, हराउन तथा बिर्सिन नपाउस् भन्ने हेतुले वेदका ऋचा संरक्षण गर्न ऋचा पाठ गर्ने विभिन्न उपाय अपनाइएको थियो ।

वेद श्रुतिशास्त्र भएकाले मन्त्रहरूको संरक्षण गर्नका लागि पाठ गर्दा विभिन्न क्रममा मिलाएर पाठ गर्ने पद्धतिको विकास भएको थियो ।

विद्वान् कपिलदेव द्विवेदीले वेदका मन्त्र तथा ऋचा संरक्षणका उपायलाई निम्नानुसार उल्लेख गरेका छन् :

१) संहिता पाठ : सहिता पाठ अन्तर्गत मन्त्रलाई जस्ताको त्यस्तै मूल रूपमा नै पाठ गरिन्थ्यो ।

२) पद पाठ : पद पाठ अन्तर्गत मन्त्रको हरेक पदलाई स्वतन्त्र रूपमा छुट्टाछुट्टै रूपमा पाठ गरिन्थ्यो । यसमा शब्द सन्धिलाई विच्छेद गरेर प्रत्येक शब्दलाई फरक फरक रूपमा पाठ हुन्थ्यो । जस्तो कखगघ स्वरूपको मन्त्रलाई क, ख, ग, घ, ..... गरेर ।

३) क्रम पाठ : क्रम पाठ अन्तर्गत मन्त्र तथा ऋचाका शब्दलाई कख, खग, गघ, .... गर्दै पाठ गरिन्थ्यो ।

४) जटा पाठ : जटा पाठ अन्तर्गत मन्त्र तथा ऋचाका शब्दलाई कख, खक, कख, खग, गख, खग को रूपमा पाठ गरिन्थ्यो ।

५) शिखा पाठ : शिखा पाठमा मन्त्र तथा ऋचाका शब्दलाई कख, खक, कखग, खग, गख खगघ को रूपमा पाठ हुन्थ्यो ।

६) घन पाठ : घन पाठ अन्तर्गत मन्त्र तथा ऋचाहरूको पदक्रमलाई कख, खक, कखग, गखक, कखग को रूपमा पाठ गर्ने परम्परा थियो । 

   –युवामञ्च   

Author

शुक्रराज अधिकारी