नेपाल पर्यटकीय सम्भावनाले भरिएको सुन्दर र शान्त देश हो । यहाँ जस्तो प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता अन्यत्र पाइँदैन । नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विविधताले संसारका मानिसलाई आकर्षित गरेको छ । पृथक् भौगोलिक बनावट, हिउँले ढाकिएका शृङ्खलाबद्ध हिमाल, नेपालीमा रहेको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृतिक विविधता, जातजाति, वेशभूषा, कला, संस्कृति आदि कुराले पर्यटन व्यवसायमा विकासका सम्भावना बढाएको छ । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हाम्रा पहिचान हुन् । यी सम्पदा देखाएर संसारभरका मानिसलाई नेपालप्रति आकर्षित गराउन सक्ने हो भने पर्यटनबाटै समृद्धि सम्भव हुने छ ।
बाइसे चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेसँगै विकासको सम्भावना खुल्नुपर्ने थियो तर लादिएको १०४ बर्से लामो एकतन्त्रीय राणा शासनले मुलुकलाई बाह्य विश्वबाट अलग गरायो । यो व्यवस्थाले केवल सत्तामा रहेका वर्गको विलासिता पूरा गर्नेबाहेक पर्यटन क्षेत्रमा केही गरेन । नेपाल अन्तर्राष्ट्रिय समुदायबाट सम्पर्कविहीन अवस्थामा रह्यो । २००७ सालमा प्रजातन्त्र आएपछि सम्भावनाको ढोका खुल्न लागेको थियो तर २०१७ सालमा राजा महेन्द्रले सैन्य ‘कु’ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेसँगै मुलुकले गति लिन सकेन । पर्यटन क्षेत्र नारामा सीमित भयो, प्राथमिकतामा परेन । तैपनि केही झिना मसिना काम थालियो । सन् १९५० मा संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिका रूपमा नेपाल आएका टोनी हेगनले एक दशक भ्रमण गरी सन् १९७१ मा प्रकाशित ‘नेपाल–द किङ्डम इन दी हिमालय’ पुस्तकले नेपाललाई चिनाउने प्रयास ग¥यो । त्यस्तै सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चढे । यो खबरले संसारभरका आरोहीका लागि नेपाल जीवनमा एकपल्ट पुग्नैपर्ने गन्तव्यको रूपमा चिनियो । त्यसपछि नेपालका बारेमा अन्तर्राष्ट्रिय चासो बढ्न थाल्यो । २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ सिट जिती बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले सरकार बनायो । यो सरकारले पर्यटनलाई प्राथमिकतामा राख्यो । २०१६ सालमै पर्यटन बोर्डको स्थापना भयो तर २०१७ सालको घटनाले ३० वर्षसम्म नेपाल विकासमा पछाडि प¥यो । २०४६ सालमा पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय प्रजातन्त्र आएपछि बनेका सरकारले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेका छन् । यसबिचमा २०५२ सालदेखि २०६२ सालसम्मको सशस्त्र विद्रोह, २०५८ सालमा भएको दरबार हत्याकाण्ड, २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि पर्यटकको आवागमनमा कमी आयो । २०६२/६३ सालको आन्दोलन सफल भई मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गएपछि बल्ल पर्यटकीय सम्भावनाको ढोका खुलेको हो ।
पर्यटक निर्बाध रूपले नेपाल आउन थाले । हुन त नेपालले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएको थियो । त्यसै गरी सन् २०११ मा पर्यटन वर्ष मनायो । २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० मनाउन अन्तिम तयारी भएको बेला कोरोना महामारीले वितण्डा मच्चायो । यसले नेपालको पर्यटन क्षेत्रको विकासमा अभूतपूर्व सङ्कट उत्पन्न भयो । अब भने परिस्थिति अनुकूल छ । नेपालले बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्धको जन्मस्थान लुम्बिनी, हिन्दु धर्मावलम्बीका लागि सीताको जन्मस्थान जनकपुर, पशुपतिनाथ, मुक्तिनाथको प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्न सकिन्छ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएका दुई छिमेकी भारत र चीनको बिचमा नेपाल छ । पाँच प्रतिशत चीनका बौद्ध धर्मावलम्बीलाई लुम्बिनीमा र भारतका हिन्दु धर्मावलम्बीलाई जनकपुर, पशुपतिनाथ र मुक्तिनाथ ल्याउन सक्ने हो भने नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने छ ।
नेपालका विभिन्न सम्पदा युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ । यी सम्पदाहरू पर्यटकीय आकर्षण हुन् । चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा रहेका छन् । त्यस्तै विभिन्न धार्मिक स्थल एवं सांस्कृतिक सम्पदामध्ये पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्बिनी, स्वयम्भू, बौद्ध, काठमाडौँ, भक्तपुर र ललितपुर दरबार क्षेत्र विश्व सम्पदा सूचीमा पर्छन् । नेपाल पर्वतीय पर्यटनका लागि पनि संसारकै उत्कृष्ट गन्तव्य हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिई न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले पर्यटन विकासका लागि सबैखाले अवरोध हटाई सुशासन दिन सके मुलुकमा पर्यटन क्षेत्रबाट ठुलो उपलब्धि हासिल गर्न सकिने स्पष्ट गर्नुभएको हो । आशा गरौँ, अब पर्यटन क्षेत्र मुलुकको विकासको मेरुदण्ड बन्ने छ ।