• ६ जेठ २०८१, आइतबार

कर्जा र निक्षेप वृद्धिदर घट्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २९ गते । चालू आर्थिक वर्षको १० महिनामा कुल आन्तरिक कर्जाको वृद्धिदरमा पनि कमी आएको छ । समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १९.४ प्रतिशतले बढेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेपको वृद्धिदरमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको १० महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप १४.३ प्रतिशतले बढेको थियो ।

२०७९ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती ८.५ प्रतिशत, बचत २८.१ प्रतिशत र मुद्दतीको अंश ५६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको थियो । 

२०७९ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.४२ प्रतिशत रहेको छ । २०७८ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४०.९४ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह वृद्धिमा कमी

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिमा पनि कमी आएको छ । सो अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १३.० प्रतिशतले, विकास बैङ्कको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह २८.२ प्रतिशतले बढेको छ ।

२०७९ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७८ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १८.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५.६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १७.७ प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १५.८ प्रतिशतले र हायर पर्चेज कर्जा ३.३ प्रतिशतले बढेको छ भने ट्रस्ट रिसिट (आयात) कर्जा ५२.५ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १४ प्रतिशतले घटेको छ ।