• २२ असार २०८१, शनिबार

समाचार प्रभाव:

बुटवलको खानेपानी समस्या समाधानमा मुहानको खोजी

blog

चिडियाखोलामा रहेकोे खानेपानी मुहानको अवलोकन गर्नुहुँदै स्थानीय जनप्रतिनिधि सहितको टोली । । तस्बिरः कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ २९ गते । बुटवलमा भैरहेको खानेपानी समस्याबारे गोरखापत्रले समाचार प्रकाशन गरेसँगै यहाँका जनप्रतिनिधिहरुले चासो देखाएका छन् । बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जानकारी लिन जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका हुन् । 

पानीको समस्याबारे गोरखापत्रले जेठ १९ मा बुटवलको मेलम्ची २६ बर्षदेखि अलपत्र शिर्षकमा समाचार प्रकाशन गरेको थियो । दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग रहेको बुटवलमा दुई करोड ४० लाख लिटर मात्र पानी उपलब्ध रहेको अवस्थामा पानीको श्रोत पहिचान गरी खानेपानीको पहुँच पु¥याउन  जनप्रतिनिधिले बुटवल स्थित मुहानको स्थलगत अवलोकन गरेका छन् । 

शनिबार नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल, खानेपानी संस्थानका सव इन्जिनियर विजय श्रेष्ठ सहित स्थानीय सहितको टोलीले बुटवल चिडियाखोलाको मुहानको अवलोकन गरेको हो । 

बुटवलमा वितरण भएको पानीमध्ये ६० प्रतिशत पानी तिनाउ नदीको चिडियाखोलाबाटपम्पले तानेर वितरण हुन्छ । सोही स्थानको अवलोकनपश्चात् नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा शुद्ध र पर्याप्त पानी वितरणका लागि बुटवल उपमहानगरपालिका, खानेपानी संस्थानका साथसाथै प्रदेश र संघीय सरकारसँग समेत समन्वय गरिने बताउनुभयो । 

‘बुटवलमा कैयौं वर्षदेखि शुद्ध र पर्याप्तपानीको अभाव छ, यो अभावपूर्ति गर्नका लागि हामीले हाम्रो बजेटले भ्याएसम्म हाम्रो बजेटबाट र बाँकी ठूला योजनाका लागि प्रदेश र संघसँग समेत समन्वय गरेर बुटवलको मुख्य समस्या मध्येको खानेपानी समस्या समाधान गर्नेछौं’ उहाले भन्नुभयो  । 

खानेपानी संस्थान बुटवलका सव इन्जिनियर विजय श्रेष्ठका अनुसार बुटवलमा दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ । ‘तिनाउको पानीतानेर शुद्धीकरण गरेर वितरण गरिएको छ, उहाले भन्नुभयो, वर्षामा धमिलो पानी आएमा वितरण रोकिन्छ, यसले पानीको अभाव बढाउँछ ।’ 

बुटवलमा पानीको वितरण पुगनपुग दुई करोड ४० लाख लिटर मात्रै छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ। 

हाल १६ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यस बाहेक १९ वटा बोरिङ्ग मार्फत पानी वितरण गरिएको छ । तर, तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमीन मुनीको पानीको सतह घट्दै जाँदा बोरिङ्गबाट पानी कम आउँछ । जसकाकारण  बुटवलमा पानीको अभाव वर्षेनी चुलिँदो छ । बुटवलको त्यहीखानेपानी समस्या समाधानगर्ने उदेश्यले २६ वर्षअघि  सिस्ने खानेपानी आयोजना सुरु भएको थियो । 

पाल्पाको झुम्सा स्थित सिस्ने खोलाबाट दैनिक सात लाख लिटर पानी बुटवल ल्याउने योजना सहित २०५२/०५३ माआयोजना सुरु भएको थियो । तर, सो आयोजना पटक पटक रोकिदै आएको छ । आयोजना छिटै सम्पन्न गर्नका लागि समन्वय र सहकार्य गरिने नगर प्रमुख पाण्डेयले बताउनुभयो । ‘झुम्साको पानी बुटवलमा ल्याएर वितरण गर्न सकियो भने अहिलेजस्तो अभाव हट्ने थियो, उहाँले भन्नुभयो, त्यो आयोजनाको काम के के भइरहेको छ, त्यसबारे हामीले छिटै नै प्रगति विवरण हेरेर आयोजना, प्रदेश सरकार र संघ सरकारसँग समन्वय गरेर अघि बढ्दा प्रभावकारी हुन्छ,त्यसै अनुसार गर्छौं ।’ आयोजनाले निर्धारित समयमा काम नसक्दा पानी अभाव अरु बढ्दै गएको छ ।

Author

कपिल ज्ञवाली