• २२ जेठ २०८२, बिहिबार

वायुसेवा निगमको पुनःसंरचना आवश्यक छ : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमको पुनःसंरचना नगरेसम्म मुलुकको पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसक्ने बताउनुभएको छ। राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सोमबार यहाँ सम्बोधन गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । 

वायुसेवा निगमले लामो समयसम्म पनि फड्को मार्न नसकेको उल्लेख गर्दै यसको पुनःसंरचना आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले ध्वजावाहक नेपाल वायुसेवा निगमकै कमजोरीका कारण पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको टिप्पणी गर्नुभयो । निगमले दुई–चारवटा जहाज उडाउन नसक्ने हो भने विदेशी एयरलाइन्सलाई मात्र दोष दिएर नहुने मन्त्री गुरुङले बताउनुभयो । युरोपेली युनियनलगायत नियामक निकायलाई किन विश्वास दिलाउन सकेनौंकि नेपाली आकाश सुरक्षित छ ? उहाँले प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाल वायुसेवा निगमको पुनःसंरचना नगरेसम्म पर्यटन क्षेत्रको विकास हुन सक्दैन । आजभन्दा १८ वर्ष अगाडि म पर्यटनमन्त्री हुँदा पनि त्यही दुई–तीन वटा जहाज थियो । आज पनि त्यही छ । त्यसले किन प्रगति गरेन ? यसको पुनरसंरचना गर्नुपर्छ । पार्टनर खोजेर हुन्छकि पिपिए मोडेलमा गएर हुन्छ, त्यो चाहिँ आजै गर्नुपर्ने काम हो । होइन भने, हाम्रो पोखरामा एअरपोर्ट चलेन, गौतमबुद्ध विमानस्थल चलेन भनेर कथा हालेर कुनै पनि काम छैन ।’

आफ्नै ध्वजावाहकले दुई चारवटा जहाज उडाउन सक्दैन अर्को त आएर गइहाल्छ नि, उहाँले भन्नुभयो । यसमा आमुल परिवर्तन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । अर्को कुरा, नेपाली आकाश कालोसूचीमा परेको दुई दशक भइसक्यो । अहिलेसम्म जस्ताको त्यस्तै किन छ ? किन नहटाएको हो ? के गर्दा नेपाली आकाश सुरक्षित हुन्छ भन्ने कुरा हामीले इयुलगायतलाई दिन नसकेको हो ?उहाँले जिज्ञासा गर्नुभयो । नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा जोड दिन आवश्यक रहेको मन्त्री गुरुङको भनाइ छ ।