• २४ जेठ २०८२, शनिबार

बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

blog

सरकारको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १२ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको छ ।

आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभाको सोमबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो । 

गण्डकीको बजेट अधिवेशनको दोस्रो दिन सरकारले बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेको हो । बजेट ल्याउनु १५ दिनअघि सिद्धान्त र प्राथमिकता पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । 

यसमाथि बुधबार सदनमा छलफल गरी पारित गर्ने तयारी छ । गण्डकी सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसपालिको बजेट अधिवेशनबाटै अहिले विभिन्न विषयगत समितिमा छलफलका क्रममा रहेका करिब एक दर्जन विधेयक पारित गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार सदनमा बताउनुभएको थियो । 

गण्डकी सरकारले यसपालि ‘उज्यालो गण्डकी अभियान’लाई निरन्तरता दिने भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा रहेका सामुदायिक लघु जलविद्युत आयोजनाको आवश्यकताको मूल्याङ्कन गरी मर्मत सम्भार गर्ने र सबै घरसम्म बिजुली पु र्‍याउने सरकारको योजना छ । 

सरकारले कृषि, वन, पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक पूर्वाधार क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन गर्ने अर्थमन्त्री डा गुरुङले पेश गरेको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । आगामी वर्षदेखि विकास कार्यक्रममा आवश्यक र प्राथमिकताको आधारमा सन्तुलन कायम गर्ने नीति लिइएको छ । 

सरकारको सिद्धान्त र प्राथमिकतामा भनिएको छ, “प्रदेश सरकारको नीति अनुसार, आगामी वर्षका लागि बजेट निर्माण गर्दा न्यायोचित र परिणाममुखी प्रबन्ध प्रणाली अवलम्बन गरिनेछ । साथै, प्राकृतिक स्रोतको समुचित व्यवस्थापन र उपयोग गरेर प्रदेश र स्थानीय तहले आम्दानी गर्न सक्ने स्रोतको न्यायोचित बाँडफाँट गर्न आवश्यक पहल सुरु गरिने भएको छ ।”

गण्डकी प्रदेशसभाको अर्काे बैठक जेठ १३ गते बिहान ११ बजे हुने सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो ।