• २२ जेठ २०८२, बिहिबार

पिएम कप भलिबल

पुलिसको चौथो जित, आर्मी र कर्णाली बाहिरियो

blog

महिलातर्फ नेपाल पुलिस र त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्दै । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे(कास्की), जेठ १२ गते । नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकाल्दा प्रतियोगिताबाट त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बाहिरिएका छन् । 

सोमबार भएको प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पाखा लगाएर फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पोखरा रङ्गशालास्थित  कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो । 

पुलिस ११ अङ्कसहित शीर्षस्थानमा रहँदा पाँच सेटमा पुगेको खेलबाट आर्मी एक अङ्क मात्र जोड्दै लिग चरणबाट बाहिरिएको छ । महिलातर्फ सहभागी ६ टोलीमा आर्मी र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएका हुन् । 

यसअघि सोमबार नै भएको महिलातर्फ खेलमा एभरेस्ट भलिबल क्लबले दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा एभरेस्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । 

एभरेस्टले कर्णालीलाई २५–१४, २५–७,२५–२० ले पराजित गरेको हो । महिला लिगमा पुलिस, टिप टप न्यु डायमन्ड स्पोर्टस्, नेपाल एपिएफ क्लब र एभरेस्ट शीर्ष चार मा रहेका छन् ।  

यसैबिच सोमबार भएको पुरुषतर्फको खेलमा घरेलु टोली गण्डकी प्रदेशले पाँचौं जित निकालेको छ । लगातारको जितमा गण्डकीले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । 

पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले  २५–१३, २५–२० र २५–२० को सहज जितमा गण्डकीले ३ अंक जोड्यो ।  

पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–१ ले हराएर तेस्रो जित निकालेको छ । खेलमा पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले खेलमा कमब्याक गर्दै २५–१९,२५–२१ र २५–२० ले लगातार तीन सेट जित्यो । 

नेपाल भलिबल सङ्घको आयोजनामा भएको खेल जेठ १५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विजेताले आठ लाख, दोस्रोले चार लाख र तेस्रोले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । 

यस्तै उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकलाई जनही २५/२५ हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ ।