कुलबहादुर शाही
जाजरकोट, जेठ १२ गते । जिल्लाको कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । स्वास्थ्य चौकी टालेगाउँको आयोजनामा आयोजित कार्यक्रममा वडाका कार्यवाहक वडाध्यक्ष तप्त बहादुर सिँहको उपस्थितिमा घोषणा गरिएको हो ।
स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष ०८१-०८२ मा वडामा ० देखि १६ महिनासम्मका ४५ जना र १६ देखि २३ महिनासम्मका ५२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
प्रमुख बस्नेतले वडामा कुनै पनि बालबालिका खोपबाट छुट नभएको जानकारी दिनुभयो । उहाँले बाल्य अवस्थाबाटै प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा नियमित गर्न स्वास्थ्य चौकीले निरन्तर ध्यान दिँदै आएको पनि बताउनुभयो । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सिँहले सबै बालबालिकालाई खोपको माध्यमबाट सुरक्षित गर्दै वडाले एक महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।
उहाँले खोपलाई बालबालिकाको सुरक्षित भविष्य निर्माणका लागि प्रभावकारी तथा अत्यावश्यक कार्यक्रमका रूपमा चित्रण गर्नुभयो । खोप तथा पोषण सम्बन्धी अभियानहरूमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई धन्यवाद समेत दिनुभयो । स्वास्थ्य चौकीका प्रमुख बस्नेतले यसै आर्थिक वर्षमा कुशे गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।