गार्डेन राई
सोलुखुम्बु, जेठ १२ गते । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्यटन शुल्क बापत १५ करोड १३ लाख ८० हजार रुपियाँ राजश्व सङ्कलन गरेको हो ।
गाउँपालिकाले गत साउनदेखि जेठ मसान्तसम्म १० महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १ देखि हालसम्म ११ दिनमा ५२ लाख ७० हजार रुपियाँ सङ्कलन भएको छ ।
लुक्ला शुल्क सङ्कलन केन्द्र, जोरसल्ले शुल्क सङ्कलन केन्द्र र लुक्ला हेलिप्याड गरी तीन वटा केन्द्रबाट पर्यटकहरू खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर, थामे उपत्यका, गोक्यो उपत्यका र खुम्बु उपत्यका भ्रमण गर्न विभिन्न मुलुकबाट पर्यटकहरू आउने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।
गत साउनदेखि हालसम्म ४५ हजार एक सय १३ जना विदेशी र आठ हजार दुई सय ५७ जना सार्क राष्ट्रका गरी कुल ५३ हजार तीन सय ७० जना पर्यटकहरुले खुम्बु क्षेत्र भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । सार्क राष्ट्र र चीनका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकहरूबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ पर्यटन शुल्क लिने गरिएको गाउँपालिकाले जनाएको छ ।
पर्यटन शुल्क बापतको रकम पर्यटन पूर्वाधार विकासका लागि खर्च हुँदै आएको खुम्बु पासाङल्हामु गाउँपालिका गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । यसैबिच गाउँपालिकाले साउन महिनादेखि हालसम्म विभिन्न शीर्षकमा १६ करोड ३९ लाख ७५ हजार एक सय ७० रुपियाँ राजश्व सङ्कलन गरेको छ ।