काठमाडौँ, जेठ १२ गते । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस पालिको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुहुँदै ‘पपुलिस्ट’ खालका बजेट नआउने बताउनु भएको छ ।
काठमाडौँमा सोमबार लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको हालसम्मको प्रगति विवरण तथा आ.व २०८२⁄८३ को वार्षिक बजेट तथा कार्यक्रमका लागि विज्ञहरुको सुझाव तथा सङ्कलन एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । साथै उहाँले बजेट चर्चाको विषय मात्रै हुने, तर व्यवहारमा लागू गर्न नसक्ने खालका बजेट निरुत्साहित गरिने बताउनु भएको हो ।
मन्त्री गुरुङले भन्नुभयो, “यसपालि पपुलिस्ट बजेट आउँदैन ।” उहाँका अनुसार थोरै बजेटको अपुगका कारण पूरा हुन नसकेका योजनाहरुमा थप बजेट गरी सम्पन्न गरिने बजेटको धेय रहेको छ ।
“धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुप्रै छ” उहाँले भन्नुभयो, “त्यस्ता अलपत्र परेका योजना पूरा गर्नेमा बजेटले प्राथमिकता पाउँछ ।”
उहाँले कुनै स्टुमेट नै नगरी बनेका योजनाहरु बजेटको प्राथमिकतामा नपर्ने बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरु सफल पार्न भने सरकारले जोड दिने मन्त्री गुरुङको भनाइ छ । उहाँले ५⁄६ वटा राष्ट्रिय गौरवका योजना सम्पन्न गर्ने काममा सरकार केन्द्रित रहेको बताउनुभयो । साथै, कुनै बन्दै गरेको योजनामा धेरै रकम खर्च भइसकेको र थोरै रकम अभावका कारण अलपत्र परेको छ भने त्यसलाई पूरा गर्न बजेट विनियोजन प्राथमिकतामा राखिने बताउनुभयो । ‘‘सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट ल्याउछ” उहाँले भन्नुभयो ।
यसैगरी, मन्त्री गुरुङले दोर्दी गाउँपालिकाले राम्रो काम गरेको समेत प्रशंसा गर्दै अब स्थानीय तहले बजेट बनाउँदा त्यहाका बासिन्दाको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि ल्याउने र गरिबी निवारण गर्नेखालका योजनाहरुमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।
“सडक र बाटोघाटोजस्ता ठुला योजना सङ्घीय सरकारले गर्छ” उहाँले भन्नुभयो, “स्थानीय सरकारले गरिबी हटाउने र रोजगार सिर्जना गर्ने खालका योजनामा बजेटको प्राथमिकतामा राख्नुपर्छ ।”
त्यस्तै मन्त्री गुरुङले यो वर्ष गाउँस्तरमा फाइभ जि नेटवर्क विस्तार गर्न नसके पनि काठमाडौँ र पोखरा महानगरपालिकामा भने यो नेटवर्कको सुरुवात गरिने प्रष्ट पार्नुभयो । सूचनाप्रविधि युगको समयमा इगभर्नेन्स कार्यशैली प्रभावकारी बनाउन स्थानीय तहमा डिजिटल पहुँच विस्तारमा मन्त्रालयले जोड दिँदैआएको बताउनुभयो । उहाँका अनुसार देशभर फोर जीको पहुँच विस्तार गर्ने र सूचना प्रविधिमैत्री सरकारी सेवाको सुरु गरिने छ ।
त्यस्तै, कार्यक्रममा पालिकाले हालसम्म गरेका कार्यको प्रगति विवरण सार्वजनिक गरेको थियो । जसमा कृषि, रोजगार, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख थियो । साथै कार्यक्रममा सहभागी विज्ञहरुले पालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममाथि महत्त्वपूर्ण सुझाव दिएका थिए ।