नवीनराज कुँईकेल
लमजुङ, जेठ १२ गते । लमजुङको बेसीशहर नगरपालिका ६ मालेबगरस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्न गएका एक युवा बेपत्ता हुनुभएको छ। हराइरहेका व्यक्ति सप्तरीको सम्भुनाथ –१२ अर्नाहाका २४ वर्षीय नन्दकिशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
चौधरी काठमाडौंबाट सञ्चालित भिभा कन्ट्रक्सन प्रालि अन्तर्गत उदिपुर–मनाङ विद्युत प्रसारण लाइनमा मजदुरी गर्ने ब्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभयो । बेपत्ता हुनुभएका चौधरीसँगै सो कम्पनीमा काम गर्ने पाँचजना कामदार आइतबार दिउँसो मर्स्याङ्दीमा नुहाउन जानुभएको थियो ।
पौडी खेल्नेक्रममा चौधरी नदी पारी पुगेको र केहीबेरपछि फर्किनुहुन्छ भन्ने ठानेर अन्य कामदारहरु आफूहरु बस्ने स्थानमा फर्किएका थिए। बेलुका उहाँ बास बस्ने स्थानमा नआएपछि सोमबार मात्र प्रहरीलाई जानकारी गराएको खुदी प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक रन्जन अमगाईले जानकारी दिनुभयो ।
बेपत्ता चौधरीको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेको कमाण्डमा पाँच जना, खुदी प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक रन्जन अमगाईको नेतृत्वमा तीनजना र साथमा गएका पाँचजना साथीहरू मिलेर खोजी गरिरहेको प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।