• २२ जेठ २०८२, बिहिबार

केन्द्रीय राष्ट्रपति रनिङशिल्डको तयारी अन्तिम चरणमा

blog

काठमाडौँ, जेठ १२ गते । केन्द्रीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडलबाट हुने भएकाले निमन्त्रणका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्न व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

समितिको बैठकले प्रतियोगिता उद्घाटन र सन्चालन सम्बन्धमा सम्बन्धित खेल सङ्घ र मुख्य प्रशिक्षकहरुलाई जिम्मेवारी दिएको छ । रनिङशिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका खेल समावेश गरिएको छ ।

खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङशिल्डलाई भब्य रुपमा आयोजना गर्न परिषद्का सदस्य सचिव टंकलाल घिसिङले व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । 

पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरु केन्द्र तहको राष्ट्रपति रनिङशिल्डमा सहभागी हुने व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रत्येक प्रदेशबाट ४९ छात्रा र ४९ छात्र गरि ९८ सहित सातै प्रदेशबाट कूल ६ सय ८६ जना खेलाडी र १७ जना अफिसियल सहभागी हुनेछन् । 

एथलेटिक्स र उसुका खेल दशरथ रङ्गशाला, कराते र तेक्वान्दो सातदोवाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने राखेपले जनाएको छ ।