काठमाडौँ, जेठ १२ गते । गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै पाँचौँ जित दर्ता गरेको छ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई ८१–६४ ले पराजित गरेको हो । पाँचौँ जितपछि गोल्डनेगेटले ६ खेलबाट शीर्ष स्थानको हाउण्ड्स एकेडेमी समान ११ अङ्क जोडेको छ ।
पहिलो खेलमा टाइम्ससँग पराजित भएको गोल्डेनगेटले लिगमा लगातार पाँचौँ जित हात पारेको हो । लिगमा हाउण्ड्सलाई हराउने एक मात्र टिम गोल्डेनगेट हो । कीर्तिपुरको भने यो लगातार चौथो हार हो ।
सुरुवाती दुई खेलमा सामाखुशी युथ क्लबलाई हराएपछि कीर्तिपुरले जित हात पार्न सकेको छैन ।कीर्तिपुरल विरुद्ध गोल्डेनगेटको यो दोस्रो जित हो । लिगमा यसअघि पहिलो खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ९२–६५ ले पराजित गरेको थियो ।
गोल्डेनगेटले सुरुवातदेखि नै अलमा अग्रता लिँदै अन्तिमसम्म कायम राखेको थियो । पहिलो क्वाटर २६–२० र दोस्रो क्वाटर १८–१५ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै गोल्डेनगेटले तेस्रो क्वाटर २१–१७ र चौथो क्वाटर १७–१२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
खेलको मोस्ट भ्यालुएबल प्लेअर गोल्डेनगेटका अजय कुश्वाह हुनुभयो । गोल्डेनगेटका लागि सुदिप पौडेलले सर्वाधिक २३ स्कोर गर्नुभयो । कीर्तिपुरका लागि निश्चल महर्जनले २२ स्कोर गर्नुभयो ।