काठमाडौँ, जेठ १२ गते । १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप नेपालमा हुने भएको छ ।
आईओएफटिसी नेपालको आयोजनामा सन् २०२५ डिसेम्बर १८ देखि २० तारिखसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने च्याम्पियनसिपमा विभिन्न देशका सात सय भन्दाबढि खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आईओएफटिसीका निर्देशक ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले जानकारी दिनुभयो ।
महर्जनकाअनुसार च्याम्पियनसिपमा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्सलगायत देशको सहभागिता रहनेछ ।
सहभागि खेलाडीले सिनियर पुरुष र महिलाको समान आठ/आठ तौल समूहमा प्रतिस्पर्धा गनेछन् । यस्तै जुनियरतर्फ महिला र पुरुष गरी १०/१० तौल समूह, क्याडेटमा १०/१० तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि समावेश गरिनेछ ।
प्रतियोगितामा कूल ६५ स्वर्ण, ६५ रजत र एक सय कांस्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टका विजेतालाई पनि पदक प्रदान गरिनेछ ।
आईओएफटिसी स्थापना भएको २५औँ वर्षको अवसरमा नेपालका प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । यसअघि च्याम्पियनसिपको १४औँ संस्करण दक्षिण कोरियामा आयोजना गरिएको थियो ।
यस च्याम्पियनसिपले खेलकुदको माध्यामबाट पर्यटनमा विकास पुर्याउने लक्ष्य राखिएको पनि निर्देशक महर्जनले बताउनुभयो ।