• २६ जेठ २०८२, सोमबार

सञ्चालन नहुँदै जीर्ण बन्दै बसपार्क

blog

कमलामाई नगरपालिका–९ भिमानमा निर्माण भएको बसपार्क । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

भिमान(सिन्धुली), जेठ १२ गते । निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा बागमती प्रदेश सरकारको सहयोगमा निर्माण भएको बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

बीपी राजमार्ग र मदनभण्डारी राजमार्गको सङ्गमस्थल भिमानमा निर्माण भएको डबल लेनको टर्मिनल उक्त बसपार्क हस्तान्तरण नहुँदा सञ्चालन नआउँदै भत्किएर जीर्ण बन्दै गएको छ । निर्माण कार्यमा संलग्न सहरी विकास तथा भवन कार्यालयले उक्त बसपार्क हस्तान्तरण गर्न खोजि रहेपनि प्रकृया नमिलेको भन्दै नगरपालिकाले बुझ्न मानिरहेको छैन । 

बसपार्क सञ्चालनमा नआउँदा निर्माण गरेका संरचना भत्किदै जीर्ण बन्दै गएको र बसपार्कमा झारबुटा पलाई कुरुप बन्दै गएको भिमानका बासिन्दा बलराम घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केमा कुरा नमिलेको हो । बनाउन लगाउने र बनाउनेको, हामी पनि अन्यौलमा छौं ।’

सहरीकरणको विकास हुँदै गरेको भिमाना बसपार्क निर्माण सुरु गर्दा उत्साहित भिमानबासी अहिले निरास बनेको उहाँको भनाइ छ । बसपार्क निर्माण सम्पन्न भएको भन्दै सहरी विकास तथा भवन कार्यालयले २०८० साल असोजमा तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल ल्याई उद्घाटन समेत गरेको थियो ।

उक्त कार्यालयका अनुसार एकै दिन बसपार्क हस्तान्तरण र उद्घाटन गर्ने कार्यक्रम थियो । त्यो दिन नगरपालिकाका मेयर अनुपस्थित भएपछि बसपार्क हस्तान्तरण नगरी उद्घाटन गरिएको हो । आर्थिक वर्ष २०७७-०७८ सालको फागुन महिनामा आत्रेय श्रीकृष्ण जेभीले ठेक्का सम्झौता गरी बसपार्क निर्माण सुरु गरेको थियो । 

बसपार्कमा प्रतिक्षालय, खानेपानी, टिकट काउन्टर, ग्यारेज, फुलबारी, कार्यालय, कर्मचारीका लागि आवस, अशक्तका लागि आराम कक्ष, ग्यारेज, सर्भिस गर्ने ठाँउ, सौर्य बत्ति, महिला र पुरुषका लागि छुट्टा छुट्टै शौचालय, विश्वकर्मा बाबाको मन्दिर सहितको भौतिक संरचना निर्माण भएका छन् ।

कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बसपार्कको निर्माण लागत चार करोड ३६ लाख ४१ हजार ४१६ रुपिया रहेको जानकारी दिनुभयो । उक्त बसपार्कमा साना ठूलागरी कम्तिमा पनि एक सय सबारी साधन पार्किङ गर्ने सुविधा रहेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, "बसपार्क हस्तान्तरणको पत्र नगरपालिकालाई करिब दुई वर्षअघि नै पठाई सकेका छौं । त्यो पछि नगरपालिकामा दुई वटा हाकीम फेरि सके । तर अहिलेसम्म उताबाट बसपार्क बुझेको पत्र आएको छैन ।"

बसपार्क निर्माण सम्पन्न भएपछि ठेकेदारले मर्मत गर्ने समय अवधि सकिसकेको र अब रेखदेख गर्ने नहुदा टुटफुट आउन थाल्न सक्ने उहाँको भनाइ छ । "ठकेदारले हामीलाई बुझाई सक्यो, उता बुझ्न मानि रहेका छैनन्," उहाँले थप्नुभयो, "मेयर बुझ्न तयार छन्, कर्मचारीले साथ दिएका छैनन् ।"

कमलमाई नगरपालिकाका उप–मेयर मञ्जु देवकोटा भत्केका र बिग्रेका संरचना पुन मर्मत नगरेकाले बसपार्क हस्तान्तरण हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, "भत्केका र बिग्रेका संरचना नबनाई हस्तान्तरण हुन लागेको थियो । पहिला त्यो सबै मर्मत गरी  जस्ताको तस्तै बनाउनु पर्‍याे, अनी बुझ्छाैँ भनेको । त्यो बनाएको छैन ।"

त्यतिबेला बत्तिहरु छ महिना पनि नबली बिग्रेको, भवनको झ्याल ढोकाहरुमा समस्या रहेको, पेटी भत्किएको अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । भिमान हुँदै निर्माण भएको बीपी राजमार्ग र मदनभण्डारी राजमार्गमा यातायातको चापसँगै अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढ्दो थियो । त्यही जोखिमलाई न्यूनीकरण गर्न उक्त बसपार्क निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन् ।