• ११ असार २०८२, बुधबार

वकिल र डाक्टरको कोटको कथा

blog

तपाईंले कहिले विचार गर्नुभएको छ किन वकिलले कालो कोट र डाक्टरले सेतो कोट लगाउँछन् ? यो केवल फेसन वा परम्परासँग मात्र सम्बन्धित छैन । यसको पछाडि गहिरो सोचाइ, इतिहास र मनोवैज्ञानिक कारण छन् । 

कालो रङलाई गम्भीरता, शक्ति र इज्जतको प्रतीक मानिन्छ । त्यसैले न्याय प्रणालीमा काम गर्ने वकिलले आफ्नो पेशागत पहिचानका रूपमा कालो कोट लगाउने परम्परा बसालेका छन् । इतिहास हेर्दा इस्वी संवत्को १७ औँ शताब्दीमा बेलायतका राजा चाल्र्स द्वितीयको निधनपछि वकिल र न्यायाधीशहरूले शोक जनाउन कालो कपडा लगाउन थाले । यो परम्परा नै भयो र आजसम्म वकिलले कालो कोट लगाउने गर्छन् । 

कालो रङले अधिकार, शक्ति र निडरताको सन्देश पनि दिन्छ । यसले वकिलको आत्मविश्वासलाई प्रतिविम्बितसमेत गर्छ । कालो रङमा दाग पनि स्पष्ट देखिँदैन । जसले वकिललाई सधैँ व्यवस्थित र पेशेवर देखाउन मद्दत गर्छ । 

अब डाक्टरले लगाउने सेतो कोटबारे कुरा गरौँ । सेतो रङ शुद्धता, स्वच्छता र विश्वासको प्रतीक हो । अस्पतालको वातावरण सफा, शान्त र सुरक्षित महसुस गराउन डाक्टरले सेतो कोट लगाउँछन् । 

डाक्टरले सेतो कोट लगाउने परम्परा इस्वी संवत्को १९ औँ शताब्दीको मध्यतिरबाट सुरु भएको हो । त्यस कालखण्डमा चिकित्सा विज्ञानमा सुधार आउन थालेको थियो र अस्पतालमा सरसफाइलाई विशेष महत्व दिन थालियो । 

सेतो कोटमा दाग वा फोहोर स्पष्ट देखिन्छ । जसले डाक्टरलाई सधैँ स्वच्छ रहन सचेत गराउँछ । अर्को कुरा के छ भने जब बिरामीले सेतो कोट लगाएका डाक्टरलाई देख्छन् उनीहरू मानसिक रूपमा बलियो महसुस गर्छन् । बिरामीले उपचारप्रति सकारात्मक सोचाइ राख्छन् । सेतो रङले बिरामीमा आशा, शान्ति र आत्मविश्वास जगाउँछ ।   

–युवामञ्च   

Author

डा. अरुणकुमार सिंह