गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ६ गते । गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा जुनारबाबु बस्नेतलाई नियुक्त गरेको छ।
पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव समेट्नु भएका बस्नेत वि.सं. २०५० मा उपसम्पादकको रूपमा गोरखापत्रमा प्रवेश गर्नुभएको हो। उहाँ सहसम्पादक, नायब कार्यकारी सम्पादक, निमित्त प्रबन्ध सम्पादक र हाल कार्यकारी सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो।
उहाँसँग गोरखापत्रको अर्थ ब्युरो प्रमुख, प्रमुख समाचारदाता तथा मुना मासिकको सम्पादक भएर काम गरेको अनुभव छ। उहाँ संस्थानको नेपाली पत्रकारिता समूहको वरिष्ठतम कार्यकारी सम्पादक हुनुहुन्छ।
संस्थान व्यवस्थापनको २०८२ जेठ ६ गतेको निर्णय अनुसार २०८२ जेठ ७ गतेदेखि लागू हुने गरी नेपाली पत्रकारिता नेपाली समूहका १० तहका कार्यकारी सम्पादक बस्नेतलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिइएको हो। संस्थानमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिइएको हो । कार्यक्रममा संस्थान व्यवस्थापनले उहाँको सफल कार्यकालको शुभकामना दिएको छ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्राज्ञिक क्षमता, दक्षता र पत्रकारितामा लामो समयसम्म अभ्यासरत वरिष्ठ पत्रकार बस्नेत निमित्त प्रधानसम्पादक नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले पत्रकारिताको शिक्षण एवं अध्यापनमा पनि लामो अनुभव प्राप्त निमित्त प्रधानसम्पादक बस्नेतको कार्यकालमा गोरखापत्रले अझ व्यावसायिक उचाइ हासिल गर्ने विश्वास व्यक्त पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “गोरखापत्र पत्रकारिताको पाठशाला हो । पत्रकारिताको प्रारम्भ यहीँबाट भयो । नेपालको पत्रकारिताको अभ्यासमा सबैभन्दा ठुलो प्रकाशनगृह र सबैभन्दा बढी पत्रकार जन्मिएको पाठशाला हो । यसको सर्वोच्च र गरिमामय पद प्रधानसम्पादकमा जुनारबाबु बस्नेत नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दछु ।”
अध्यक्ष सुवेदीले राज्यको छापामाध्यमको निकै ठुलो र विशिष्ठ जिम्मेवारी सम्हाल्नुभएको बस्नेतको व्यावसायिक दक्षताले गोरखापत्र दैनिकलाई अझै पठनीय बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समग्र गोरखापत्रको पुनर्संरचना गरेर युग सुहाउँदो बनाउन दृढ रहनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्चारमन्त्रीज्यूको त्यो स्पिरिटअनुसार हामीले नयाँ ऐन बनाउने कार्य अघि बढाएका छौँ । मन्त्रालयले काम सुरु गरेको छ र हामीले पनि ऐन निर्माणका लागि मस्यौदा मन्त्रालयमा पेश गरेका छौँ । मस्यौदाको लेखन र नेतृत्व तहमा पनि नवनियुक्त प्रधानसम्पादकज्यूको भूमिका छ ।”
अध्यक्ष सुवेदीले सञ्चारमन्त्रीले गोरखापत्र संस्थानलाई व्यावसायिक बनाउने र राज्यको मिडियालाई सार्वजनिक सेवा प्रकाशन (पिएसपी) को अवधारणाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी गराउँदै त्यसलाई अघि बढाउन बस्नेतको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “गोरखापत्रले स्मार्ट यात्रा सुरु गरेको छ । छापाको आफ्नै महत्त्व छ । छापामा उत्पादित सामग्रीका आफ्ना सीमा छन् । विश्वभरिका पाठकमाँझ ती प्रकाशनको भौतिक उपस्थिति सम्भव हुँदैन । त्यस कारण हाम्रा सामग्रीलाई विश्वभरिका पाठकमाँझ पुर्याउनका लागि डिजिटल माध्यमलाई अघि बढाउनुपर्ने छ ।”
महाप्रबन्धक लालबहादुर ऐरीले निमित्त प्रधानसम्पादक बस्नेतको नियुक्ति नियमित, विधि सम्मत र प्रचलित अभ्यास अनुसारै गरिएको प्रस्ट पार्नुभयो । उहाँले बस्नेतको पत्रकारिताको लामो अभ्यास, प्राज्ञिक क्षमता र दक्षताले गोरखापत्र दैनिकलाई अझै व्यावसायिक बनाउन सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “निमित्त प्रधानसम्पादक बस्नेत प्राज्ञिक एवं अनुभवबाट खारिनुभएको पत्रकार हुनुहुन्छ । उहाँको नियुक्ति गोरखापत्रको गौरवमय इतिहासलाई अघि बढाउन महत्त्वपूर्ण हुने विश्वास लिएको छु ।”
नवनियुक्त निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेतले गोरखापत्र दैनिकको गौरवमय आयाम रहेको बताउनु हुँदै त्यो गौरवलाई कायम राखेर अझ पठनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गोरखापत्र संस्थानको नेतृत्वको चाहनाअनुसार र विधिअनुसार गोरखापत्रको नेतृत्व गर्ने अवसर पाएको बताउनुभयो । उहाँले राष्ट्रलाई गौरव गर्ने र विश्वको पत्रकारिताको इतिहासको गरिमा बढाउने संस्थालाई निष्ठापूर्वक अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “गोरखापत्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवाज हो । जनताको आवाज हो र यससँगै गोरखापत्रले राज्यको आवाजलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने हुन्छ । नीति विश्लेषण गर्ने र प्रविधिको क्षेत्रमा भइरहेको अभ्यासलाई अझ उन्नत बनाउन मेरो प्रयत्न हुने छ । गोरखापत्र जनताको आवाज बन्ने छ । पद्धति बसाल्ने प्रयास गर्ने संस्थानको व्यवस्थापनलाई धन्यवाद छ । अखबारको सुधारको अभ्यास निरन्तर चलिरहन्छ । म त्यस कार्यका लागि प्रयत्नशील रहनेछु ।”
सोलुखुम्बु जिल्लाको साविक नेले–५ मा जन्मनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा दर्शनाचार्य (एमफिल), पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर, भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन, नयाँ दिल्लीबाट आमसञ्चारमा डिप्लोमा हासिल गर्नुभएको छ। उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक पूरा गर्नुभएको छ ।
बस्नेत अर्थ नीति तथा विकास पत्रकारितामा दख्खल राख्नुहुन्छ। उहाँसँग त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराएको अनुभवसमेत छ ।
उहाँले नेपाल प्रेस इन्स्टिच्युट, नेपाल प्रेस युनियन, नेपाल पत्रकार सहासंघ, मिडिया प्वाइन्टलगायत संस्थामा प्रशिक्षकका रूपमा समेत योगदान गर्नुभएको छ । उहाँ सम्पादक समाज नेपालको उपाध्यक्ष, नेपाल पत्रकार महासंघको निरन्तर सदस्य तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।
पत्रकारितामा प्रवेश गर्नुअघि विद्यार्थी राजनीतिमा सक्रिय बस्नेत प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा अग्रसर रहनुभएको थियो। वि.सं. २०४५–४६ को आन्दोलन उहाँले पाँच महिना बन्दी जीवन बिताउनु भएको छ ।
अन्तर्राष्ट्रिय अनुभवका हिसाबले उहाँले भारत, अमेरिका, चीन, जापानलगायतका मुलुकमा अध्ययन, भ्रमण र तालिमको अवसर प्राप्त गर्नुभएको छ। १२५ वर्ष पुरानो विरासत बोकेको गोरखापत्रको जिम्मेवारी अब उहाँका काँधमा आएको छ।
प्रधान सम्पादक भट्टराईको बिदाइ
यसअघि गोरखापत्र संस्थानले गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईलाई बिदाइ गरेको छ।
वि.सं. २०४९ फागुन १ गते तह ७ को उपसम्पादकमा गोरखापत्र संस्थानको पत्रकारिता सेवामा प्रवेश गर्नुभएका भट्टराईले उमेर हद (५८ वर्ष) का कारण जेठ ७ गते बुधबारदेखि अवकाश पाउनुभएको हो। गोरखापत्र संस्थानमा रहेर उहाँले ३२ वर्ष तीन महिना पाँच दिन सेवा गर्नुभएको छ।
संस्थानमा मङ्गलबार आयोजित बिदाइ कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले भट्टराईलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभयो।
कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदीले व्यवस्थापन र सम्पादकीय नेतृत्वसँग हार्दिक सम्बन्ध रहेकाले कार्य वातावरण पनि राम्रो हुँदा गोरखापत्रका सामग्रीमा आएको सुधारले संस्थानको आर्थिक जीवन पनि सबल रहेको बताउनु भयो। कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप भएन, स्वायत्तता प्रदान गरेकै कारण समाचार सामग्रीमा सुधार आयो, जसले गर्दा संस्थानको आर्थिक अवस्थामा पनि सुधार आयो।’’
यसैगरी, महाप्रबन्धक ऐरीले सम्पादकीय नेतृत्व कुनै पनि मिडियाको आत्मा नै हो, हामी सबै मिलेर काम गर्दा नतिजा पनि राम्रो आएको बताउनु भयो। राम्रो गर्ने सन्दर्भमा राम्रो सहकार्य भएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘शिवकुमार भट्टराई प्रधान सम्पादक रहँदा गोरखापत्रको उचाइ अझ बढेको छ, त्यसमा सहयोग गर्ने र योगदान पुर्याउने सबै सम्पादकीय सहकर्मीलाई म धन्यवाद दिन चाहन्छु।’’
बिदाइ कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, कार्यकारी सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रबन्ध सम्पादक विष्णुप्रसाद गौतम, युवामञ्च मासिकका सम्पादक उमेश ओझा, मधुपर्क मासिकका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्ले, डिजिटल प्रमुख नारदमुनि गौतम, योजना विभागका प्रमुख भगीरथ बस्नेत, प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, वितरण विभाग प्रमुख ओमप्रकाश भुसाल, व्यापार विभाग प्रमुख गंगा पन्थीलगायतले भट्टराईसँगको सहकार्यका बारेमा आ–आफ्नो अनुभव सुनाउनु भयो।
भट्टराई २०७८ साउन २२ गते गोरखापत्रको निमित्त प्रधान सम्पादकमा नियुक्त हुनुभएको थियो। यसअघि उहाँले केही समय गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो।