काठमाडौँ, वैशाख ३१ गते । मोरक्कोको राजधानी राबतमा मङ्गलबार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड–२०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्वय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ ।
यी दुई पत्रकारले उकालो डट कममा संयुक्त रुपमा लेखेको ‘१६ वर्षदेखि फरार अभियुक्त एन्फाको उपाध्यक्ष, लागूऔषध कारोबारमा तोकिएको थियो ५ वर्ष कैद’ लेखका लागि स्पेशल मेन्सन दिइएको हो ।
एआइपीएस स्पोर्ट्स मिडिया अवार्डमा प्रत्येक विधाको शीर्ष तीन को उपाधि दौडमा नपरेको तर राम्रो आलेखहरुलाई स्पेशल मेन्सनमा उल्लेख गरिन्छ ।
यसअघि नेपालका खेल पत्रकारहरु गोविन्दराज नेपाल र नमिन ढकालको आलेख पनि स्पेशल मेन्सनमा परेका थिए । सन् २०२० को हंगेरीमा भएको एआइपीएस स्पोर्ट्स मिडिया अवार्डमा प्रज्वल ओलीको लेखले ‘वेस्ट कोलम’ विधामा अवार्ड जितेको थियो ।